
झापा: झापाको मेचीनगर नगरपालिका क्षेत्र भित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित हुने भएका छन् । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाले जनाएको छ।
आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले ती आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको जानकारी दिनुभयो । १६ करोड ६६ लाख ७३ हजार आठ सय १४ रुपैयाँ लागतमा निर्माण भईरहेको खानेपानी आयोजनाको लागि खानेपानी मन्त्रालय, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरले अनुदान सहयोग गरेको छ ।
स्थानीय उपभोक्ताले भने श्रमदान र नगद गरी दुई करोड आठ लाख ३४ हजार दुई सय २६ बेहोर्नु पर्नेछ । निर्माणको जिम्मा पाएको सिएवी, जिआरडी जेभी काठमाडौले वि.संं २०७८ असार २९ गते सम्झौता गरेको थियो । आयोजनाको वि.सं २०८० पुस २९ सम्म निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।
अध्यक्ष पोखरेलले धुलाबारीमा दुई, भृकुटीमा दुई र चार आलीमा एउटा डिप बोरिङ गरी दुई वटा फिल्टर प्लान्ट हुँदै चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीमा जम्मा गरी सप्लाई गरिने बताउनुभयो । उहाँका अनुसार चार आलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्याङ्की छ । जसबाट एक हजार बढी घर परिवार लाभाविन्त हुनेछन् ।
मेचीनगर–२ का बासिन्दाले वर्षौँदेखि इनार, कलको पानी उपभोग गर्दै आएका छन् । खानेपानी आयोजना सम्पन्न भएपछि इनार र चापाकलको पानी उपभोग गर्नुपर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष राजकुमार पोखरेलले बताउनुभयो ।


517 पटक हेरिएको 

