कुवाको पानीमा निर्भर डाँडाझेरीमा पहिलो पटक धाराको पानी

  वास खबर सम्वाददाता  687 पटक हेरिएको

नवलपरासी : जन्मेदेखि नै कुवाको पानी खान बाध्य बुलिङटार–२ डाँडाझेरी द्यौबादीका नरवीर मश्राङ्गी मगर घरमै खानेपानी धारा पुगेपछि दङ्ग हुनुहुन्छ। पहिलो पटक धाराको खानेपानी खान पाएकोमा उहाँ खुसी हुनुभएको हो ।

पूर्वी नवलपरासीको बुलिङटार डाँडाझेरी द्यौबादीका सात टोलमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ५ करोड ३६ लाख रुपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको वडाध्यक्ष कमल बकावल मगरले बताउनुभयो ।

बुलिङटार गाउँपालिकाका–२ का वडाध्यक्ष बकावल मगरले हालै निर्माण सम्पन्न भएको डाँडाझेरी खानेपानी आयोजनाबाट ६११ घर धुरीका झन्डै चार हजार तीन सय स्थानीय प्रत्यक्ष खानेपानीबाट लाभान्वित भएको बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष नरवीर मश्राङ्गी मगरले जीवनभरि सधैँ कुवाको खानेपानी खाएका स्थानीयले घरमै धाराबाट खानेपानी आएपछि खुसी छाएको बताउनुभयो । आयोजना निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दाले खेर गइरहेको पानीबाट तरकारी, खाद्यान्न, कागती उत्पादन गरी बिक्री समेत गर्ने गरेको गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरले बताउनु भएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।

जिल्लाको पहाडी दुई गाउँपालिकामा अझै चार हजार बासिन्दा प्रत्यक्ष खानेपानी सुुविधाबट वञ्चित छन् । स्थानीय गुन्जबहादुर आलेले जिल्लाको काफलडाँडा, मथार, पिपलछाप, रुचाङ टोल लगायतका ठाउँमा खानेपानी व्यवस्थित बन्न नसकेको बताउनुभयो । सङ्घीय सरकारको पूर्ण सहयोगमा खानेपानी आयोजना सम्पन्न भएको वडाध्यक्ष बकावल मगरले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार