
काठमाडौ : प्राविधिक समस्या भन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमी कमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरू बीच समन्वयको अभाव रहँदा बाढी पहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन सकेको छैन ।
निर्माण कम्पनी सिनो हाइड्रो यो वर्ष अहिलेसम्म आयोजनाको मुहानस्थलमा नै पुगेको छैन ।
वर्षायाम सकिएको तीन महिना सकिँदा पनि मेलम्चीको पानी काठमाडौँ आउन नसक्दा सर्वसाधारण ट्याङ्करको पानी किनेर पिउन बाध्य छन् । गत वर्ष मङ्सिरको पहिलो सातादेखि नै पानी वितरण सुरु भइसकेको थियो ।
बाढीपहिरोले क्षति पुर्याउने त्रासमा जेठमा पानी पथान्तरण बन्द गरिएको थियो । यस वर्ष असोज २८ गते देशभरिबाट मनसुन बाहिरिएको छ । सुरुङमा पानी पथान्तरण बन्द भएको सात महिना र मनसुन बाहिरिएको दुई महिना बित्न लाग्दा पनि बाढीपहिरोले पुरिएको मेलम्चीको मुहान (हेडवर्क्स) खुलाउन अहिलेसम्म कुनै प्रयास गरिएको छैन ।
खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको अहिलेको ठेकेदारले सिनो हाइड्रोले बाँकी रकमको भुक्तानीलगायतका विभिन्न सर्त राखी काम सुरु नगरेकाले पानी वितरणमा ढिलाइ भएको बताउनुभयो । सम्झौता अनुसार सिनो हाइड्रो आयोजनाको निर्माण कम्पनीका रूपमा कायम रहेसम्म अरू कुनै पनि कम्पनीले आयोजनासम्बन्धी कुनै पनि काम गर्न पाउने छैनन् ।

“काम त्यही ठेकेदारले गर्नु पर्छ । उसका मागबारे दुई दिनदेखि मन्त्रालयमा छलफल भइरहेको छ । उसको बाँकी रहेको रकम भुक्तानी गर्न मन्त्रालय तयार छ । ठेकेदार कम्पनीले धरौटी रकम फिर्ताका लागि अदालतमा दिएको मुद्दा अहिले विचाराधीन रहेकाले समेत समस्या देखिएको छ,” मन्त्री यादवले भन्नुभयो । आयोजनाको बिमा गरिएको र सोही रकमबाट नै ठेकेदारलाई भुक्तानी गर्नुपर्ने भएकाले रकमको कुनै समस्या नरहेको उहाँको भनाइ छ ।
करिब पाँच करोड रुपियाँ बाँकी रहेको रकमको भुक्तानी, धरौटी रकम फिर्ता र अदालतबाट मुद्दाको टुङ्गो नलागेसम्म मुहानस्थल लगायत आयोजनाको कुनै पनि काम नगर्ने सर्त ठेकेदार कम्पनीको छ । निर्माण कम्पनी सिनो हाइड्रो यो वर्ष अहिलेसम्म आयोजनाको मुहानस्थलमा नै पुगेको छैन ।
खानेपानीमन्त्री यादवले मेलम्चीको पानी काठमाडौँमा छिट्टै नै वितरण हुने आश्वासन दिनुभएको १० दिन पुग्न लाग्दा पनि अहिलेसम्म आयोजनाको मुहानस्थलमा नै काम सुरु हुन नसक्नुले समेत गम्भीर व्यवस्थापकीय कमीकमजोरी प्रस्ट भएको देखिएको छ । सो क्रममा मन्त्री यादवले मेलम्चीको पानी छिट्टै नै वितरण हुने गरी कामलाई तीव्रता दिन आयोजनाका कर्मचारीलाई निर्देशनसमेत दिनुभएको थियो ।
मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सहित मन्त्री यादव मङ्सिर १५ गते सिन्धुपाल्चोकको अम्बाथानस्थित आयोजनाको मुहानस्थलको अवलोकनमा पुग्नुभएको थियो । मन्त्री यादवले अवलोकनको क्रममा सञ्चारकर्मी समक्ष सुरुङमा पानी पथान्तरणको सुनिश्चितता भएपछि मात्र काठमाडौँ फर्किने प्रतिबद्धता गरे पनि अहिलेसम्म मुहानस्थलमा काम नै सुरु हुन सकेको छैन । मन्त्री यादव पर्सिपल्ट नै काठमाडौँ फर्किनुभएको थियो । मुहान क्षेत्रमा कार्यरत आयोजनाका एक जना इन्जिनियरले बालुवा र ढुङ्गाले पुरिएको हेडवर्क्स क्षेत्रमा अहिलेसम्म काम सुरु हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हेडवक्र्स क्षेत्र बालुवा र ढुङ्गाले करिब १५ मिटर पुरिएको छ । सुरुङमा पानी पथान्तरण गर्न हेडवर्क्स क्षेत्रमा थुप्रिएका बालुवा र ढुङ्गा पूर्ण रूपमा सफा गर्नु पर्छ । त्यसपछि त्यहाँ ओछ्याइएका पाइप र उपकरणलाई ‘फल्सिङ’ गरेर सफा गर्नु पर्छ । यदि त्यहाँको पानी पथान्तरण प्रणालीमा कुनै समस्या देखिएको छ भने त्यसको मर्मतसम्भार गरेपछि मात्र पानी पथान्तरण गर्र्न सकिन्छ र पानी वितरण सुरु हुन सक्छ तर अहिलेसम्म ती कुनै पनि काम सुरु हुन सकेको छैन ।”
अधिकार प्रत्यायोजन नहुँदा काममा ढिलाइ
मेलम्ची खानेपानी विकास समितिमा कार्यकारी निर्देशकमा जक्की अहमद अन्सारीलाई नियुक्त गरिए पनि अधिकार प्रत्यायोजन नहुँदा उहाँले मेलम्ची खानेपानी आयोजना सम्बन्धी केही पनि निर्णय गर्न सक्नुभएको छैन । खानेपानी मन्त्रालयका सचिव रामआधार साह मेलम्ची खानेपानी विकास समितिको अध्यक्ष हुनुहुन्छ ।
अहिले समितिको कार्यकारी अधिकार सचिव साहमै रहे पनि उहाँले अहिलेसम्म सो अधिकार कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्नुभएको छैन । ती इन्जिनियरका अनुसार समितिको कार्यकारी निर्देशकलाई अधिकार प्रत्यायोजन हुन नसक्दा आयोजनाको परामर्शदाता कम्पनीले भुक्तानी पाउन नसकेको हो । जसका कारण परामर्शदाता कम्पनीले अहिले आयोजनामा काम नगरेको अवस्था छ ।
त्यसै गरी दुई वर्षअघि वृद्धि गरिएको तलब सुविधा पनि कर्मचारीले पाउन सकेका छैनन् । अन्य कतिपय दैनिक कामकाजसमेत प्रभावित भएका छन् । कर्मचारीको बढेको तलब सुविधाबारे चाँडै नै निर्णय गर्ने आश्वासन पाइए पनि अहिलेसम्म हुन नसकेको उहाँको भनाइ रहेको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ । वृद्धि गरिएको तलब सुविधा नपाउँदा आयोजनाका इन्जिनियर समेत निरुत्साहित भएका कारण पनि पानी वितरण प्रभावित हुन पुगेको उहाँले भन्नुभयो ।


474 पटक हेरिएको 

