
दमौली : जिल्ला कारागार तनहुँमा खानेपानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटर मात्रै आपूर्ति भइरहेको छ ।
खानेपानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । दैनिक आवश्यकता भन्दा १५ हजार लिटर कम पानी आपूर्ति हुँदा कैदीबन्दीलाई समस्या परिरहेको छ । मादी नदीको किनारमा इनार खनेर पानीको व्यवस्थापन गरिँदै आएकामा केही महिना यता नदीको गहिराइ बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी आएको उहाँको भनाइ छ ।
‘अब पानीको आपूर्ति बढाउन नयाँ इनार खन्नुपर्ने मात्र विकल्प छ । अहिले जाडोको समयमा पानी अभावले धेरै असर नगरे पनि गर्मीयाम सुरु भएपछि समस्या हुन्छ । जाडो याममै पानीको आपूर्ति बढाउने विकल्प तयार गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
निरीक्षणका लागि कारागार पुग्नु भएका तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीस मक्ष कारागार प्रमुख अधिकारीले खानेपानीको व्यवस्था गर्नका लागि अहिलेबाटै काम गर्नुपर्ने विषय अवगत गराउनुभयो । निमित्त प्रजिअ भण्डारीले पानीको समस्याका बारेमा कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयमा लेखी पठाउने जानकारी दिनुभयो ।
मादी नदीबाट ल्याइएको पानी नुहाउन, लुगा धुन, सरसफाइ तथा शौचालयका लागि उपयोग गरिन्छ । पिउनका लागि कारागार भित्र दमौली खानेपानी तथा उपभोक्ता संस्था मार्फत चार वटा धारा जडान गरिएको छ ।
कारागारमा महिला र पुरुष गरी तीन सय दुई कैदीबन्दी छन् । महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहेकामा महिलातर्फ २२ र पुरुषतर्फ दुई सय ८० कैदीबन्दी छन् । करागारका निमित्त प्रमुख अधिकारीका अनुसार महिला कारागारमा आमासँग तीन बालिका पनि छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका ८६, लागुऔषध मुद्दाका ५६, कर्तव्य ज्यान मुद्दाका ५३, चोरीका २७, सवारी ज्यानका १९ जना कैदीबन्दी छन् ।


404 पटक हेरिएको 

