भरतपुरमा एकीकृत ढल व्यवस्थापनको टेण्डर गर्ने तयारी

  वास खबर सम्वाददाता  602 पटक हेरिएको

भरतपुर : भरतपुर महानगरपालिकामा एकीकृत ढल व्यवस्थापनको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा भरतपुरमा नेपालकै ठूलो ढल व्यवस्थापन योजना बन्न लागेको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले छ महिना भित्र डिपिआरको काम सकेर टेन्डर निकाल्ने तयारी गरेको छ ।

कन्सल्टेन्ट सिम्याटरबापकोसले डिपिआर बनाउने काम गरिरहेको छ । कन्सल्टेन्टले केही दिनमा डिपिआरको ड्राफ्ट दिने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका सूचना अधिकारी चिरञ्जीवी सेढाईंले जानकारी दिनुभयो । एकीकृत ढल व्यवस्थापन योजना अन्तर्गत आकाशेपानी, सतह ढल, दिसाजन्य लेदो र ल्यान्डफिल साइटबारे सम्भाव्यता अध्ययन भइरहेको छ ।

‘विदेशी दाता समेतको सहयोगमा भरतपुरमा ढल र खानेपानी व्यवस्थापनका लागि एकीकृत रुपमा काम गरिँदैछ । त्यसका लागि एउटा भारतीय कम्पनीले डिपिआर बनाउने काम गरिरहेको छ’ उहाँले भन्नुभयो । यी कामका लागि करिब पाँच अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

एकीकृत ढल व्यवस्थापन योजनालाई जग्गा प्राप्ति गर्ने विषयमा मङ्सिर २१ गते भरतपुर महानगर, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र कन्सल्टेन्ट बीच बैठक बसेको थियो ।

योजनालाई आवश्यक पर्ने जग्गा महानगरले उपलब्ध गराउने भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले बताउनुभयो । एकीकृत ढल व्यवस्थापन योजना अन्तर्गत जुगेडीमा ‘ट्रिटमेन्ट प्लान्ट बन्ने उहाँले बताउनुभयो ।

महानगरले आगामी ५० वर्षको जनसंख्या अनुमान गरेर खानेपानी र ढल व्यवस्थापनको काम गर्न लागेको हो । ‘आकासेपानी, ढल र दिसाजन्य फोहोर प्रशोधनका लागि तल्लो भेगको जग्गा आवश्यक पर्ने भएकाले ३, ४ र १६ नम्बर वडालाई जग्गा पहिचान गरी सिफारिस गर्न भनेका छौँ । ठोस फोहोर प्रशोधनका लागि २४ नम्बर वडामा प्लान्ट बन्छ । आगामी असार अगाडि नै टेन्डर आह्वान गर्ने तयारी भएकाले जग्गा जतिसक्दो पहिचान गर्नुपर्ने छ’, उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार