रत्ननगर खानेपानी उपभोक्ता संस्थाको एक बर्षको आम्दानी पाँच करोड

आम्दानी बृद्धिसँगै घटायो खानेपानी महसुल

  वास खबर सम्वाददाता  671 पटक हेरिएको

चितवन : चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक वर्षमा पाँच करोड बढी आम्दानी गरेको छ । संस्थाको १३औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/०८० मा संस्थाले पाँच करोड आठ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।

संस्थाले पानी महसुलबाट मात्रै चार करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । पाँच करोड आठ लाख आम्दानी गरेको संस्थाले दुई करोड ९९ लाख खर्च कटाएर दुई करोड आठ लाख मुनाफा गर्न सफल भएको हो । १९ वटा शीर्षकमा आम्दानी गरेको संस्थाले ५२ वटा शीर्षकमा दुई करोड ९९ लाख खर्च गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

२०५८ सालमा स्थापना भएको उक्त संस्था २०८० जेठ ४ गते बछौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था समायोजन गरी सेवा क्षेत्र विस्तार गरिएको थियो । १३ हजार ३३ उपभोक्ता रहेको संस्था अन्तर्गत संस्थागत धारा १५८, सामूहिक धारा २५६, विपन्न वर्ग धारा ८५५ र ११ हजार ७६४ निजी धारा रहेका छन् ।

रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यमा भएको साधारण सभामा संस्थाका अध्यक्ष माधवप्रसाद अर्यालले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । यस्तै सचिव प्रताप डल्लाकोटीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरस्वती लामाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक जीवनलाल नगरकोटीले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष अर्यालले खानेपानीको न्यूनतम महसुल ११० बाट घटाएर ८० रुपैयाँ कायम गरिएको र मर्मत शुल्क १० रुपैयाँ लिने निर्णय गरिएको जानकारी दिनुभएको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ। कार्यक्रममा पूर्वअध्यक्ष, सल्लाहकार तथा संस्थाको संस्थागत विकासमा योगदान गरेकालाई सम्मान गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार