
कैलाली : देशमै पहिलो पटक सिँचाई आयोजनाबाट विजुली उत्पादन गरिएको छ । कैलालीको रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट गत मंसिरको अन्तिम सातादेखि चार दशमलब ७१ मेगावाट विजुली उत्पादन भैरहेको छ ।
आर्थिक वर्ष २०६६/६७ मा परम्परागत सिँचाइलाई आधुनिकीकरण गर्ने काम सुरु गरी सिँचाई आयोजनबाट विद्युत उत्पादन गरिएको हो । सरकारले सिँचाइ आयोजनालाई बहुउद्देश्यीय बनाउन थालेको हो । त्यसको खास उदाहरणका रुपमा भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजना निर्माणाधीन अवस्थामा छन् । तर ती आयोजनाबाट उत्पादन हुनु अघि नै रानीजमरा कुलरिया आयोजनाबाट विद्युत उत्पादन गर्न थालेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणका प्राविधिकको उपस्थितिमा आवश्यक परीक्षण भइसकेको छ । व्यावसायिक उत्पादन छिट्टै सुरु गर्ने तयारी छ । त्यसका लागि केही प्राविधिक निर्णय आवश्यक छ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर टोपबहादुर खत्रीले गत मंसिर अन्तिमदेखि चार दशमलब ७१ मेगावाट विद्युत उत्पादन सुरु गरेको जानकारी दिनुभयो । सिँचाइ आयोजना भए पनि परियोजनामा बिजुली समेत उत्पादन भएपछि स्थानीय र सम्बद्ध आयोजनाका अधिकारीलाई पनि खुसी तुल्याएको छ ।
तराई क्षेत्रमा पनि आठ मिटर बराबरको हेड ९उचाइ० प्राप्त भएपछि बिजुली उत्पादनको लक्ष्य राखिएको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चूर्ण बहादुर ओलीको भनाइ छ । सिँचाइ नहरमा पानी उपलब्ध हुँदा बिजुली पनि उत्पादन हुन्छ । बत्ती बाल्न सुरु गरिएको छ । राष्ट्रिय प्रसारण प्रणालीमा जोडनका लागि आफूले आवश्यक निर्देशन दिइसकेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
विगतमा टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको करिब ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइँदै आएको थियो । आधुनिक सिँचाइ प्रणालीको विकासपछि ३८ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने रानीजमरा कुलरिया सिँचाइ मूल उपभोक्ता समितिका अध्यक्ष कुमारराज शाहीले जानकारुी दिनुभयो ।
आयोजनाको कूल लागत रु २७ अर्ब ७० करोड बराबर छ । हाल आयोजनको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ६६ प्रतिशत बराबर छ । आयोजनाको रानी र जमराको काम सम्पन्न भएको छ । विश्व बैंकको सहयोगमा सिँचाइ प्रणालीको आधुनिकीकरणतर्फको प्रथम चरणको काम पूरा भएको छ । दोस्रो चरणको काम चालु आवमा सम्पन्न हुने लक्ष्यका साथ काम भइरहेको छ ।


475 पटक हेरिएको 

