
गुल्मी : गुल्मीमा दुई खानेपानी आयोजना सम्पन्न भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ जुभुङ्गस्थित सुर्योदय खानेपानी तथा सरसफाइ आयोजना र झिरुवासस्थित ठुलाखोला काभ्रेपोखरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएसँगै विद्यालय, स्वास्थ्य चौकी, आमा समूह सहित १ सय ४० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
नवप्रभात युवा संघ गुल्मीद्वारा सामाजिक परिचालन सञ्चालनसँगै निर्माण भएका यी आयोजना गाउँपालिका अध्यक्ष सरोज कुमार थापा र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । दुई वटै खानेपानी आयोजना गुल्मीदरबार गाउँपालिका, ट्रीट्स परियोजना र स्थानीय समुदायको संयुक्त लगानीमा निर्माण गरिएको हो ।
त्यस अवसरमा गाउँपालिका अध्यक्ष थापाले पालिकाको सबै तहका खानेपानी समस्या समाधान गर्दै एक घर, एक धारा बनाउने बताउनुभयो । उहाँले लागत साझेदारीमा गाउँपालिका काम गर्न तयार रहेको भन्दै अन्य कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभयो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ढकालले आयोजनाको दिगोपना, थप उर्जा मार्फत आय-आर्जनका माध्यमसँग जोड्न स्थानीयले गरेको आग्रहलाई आफूले सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले आयोजना निरन्तरताको लागि सबै संरचना सुरक्षित राख्न जरुरी रहेको बताउनुभयो ।
त्यस्तै, नवप्रभात युवा संघका जिल्ला संयोजक धातानन्द भुसालले थुप्रै चुनौतीका बीच स्थानीय सरकार र दातृ निकायको सहयोगले आयोजना सम्पन्न गरिएको बताउनुभयो । उहाँले पानीलाई आम्दानीसँग जोड्नुपर्ने भन्दै स्थानीय सरकारले आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
जुभुङ्गस्थित सुर्योदय खानेपानी तथा सरसफाइ आयोजनामा गुल्मीदरबार गाउँपालिकाको ५१ लाख १७ हजार ४०६ रुपियाँ, ट्रीट्स परियोजनाको २३ लाख ४५ हजार २३५ रुपियाँ, स्थानीय समुदायको दुई लाख रुपियाँ र जनश्रमदान तीन लाख ५३ हजार ७९० रुपियाँ बराबरको लगानी भएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।
झिरुवासस्थित ठुलाखोला काभ्रेपोखरी खानेपानी तथा सरसफाइ आयोजनामा गुल्मीदरबार गाउँपालिकाको ९७ लाख ८३ हजार ६७३ रुपियाँ, ट्रीट्स परियोजनाको ४४ लाख ८७ हजार ३७५ रुपियाँ, स्थानीय समुदायको पाँच लाख नौ हजार रुपियाँ र श्रमदान पाँच लाख २५० रुपियाँ बराबरको लगानी भएको छ ।


442 पटक हेरिएको 

