
दैलेख : दूल्लु नगरपालिका–६ छिउडी पुसाकोटका किसान सरस्वती खड्का पछिल्लो समयमा खुशी हुनु भएको छ । गाउँमा खेतबारीमा सिँचाइ गर्ने कुलो पक्की बनेपछि उहाँमा खुशीको सीमा छैन। वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले सिँचाइ कुलोबाट पानी आउन थालेपछि सहज भएको खड्काको भनाई छ । सिंचाई कुलो निर्माण भएपछि आफुहरुले पहिलाको जस्तो जग्गा बाझो राख्नु नपरेको उहाँले बताउनुभयो।
सिँचाइ कुलो निर्माण भएपछि उत्पादन समेत वृद्धि हुने गाईखुरे बल्लेपाटा बिरिया छिप्छिपे योजनाका कोषाध्यक्ष डिल कुमारी थापाले बताउनुभयो। यसबाट करिब १२ सय घरधुरी लाभान्वित हुने उहाँको भनाइ छ । खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय दैलेखको आर्थिक सहयोगमा करिब साढे ३ सय मिटर लामो सिँचाइ कुलो निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
सिँचाई कुलो निर्माणको लागि करिब ३२ लाख लगानी भएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय दैलेखका कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्लले बताउनुभयो ।बर्षौ देखि सिंचाईको समस्या भोग्दै आएका किसानलाई सिचार्इ कुलो बने पछि ठुलो सहयोग भएको उहाँको भनाई छ ।
सिँचाइ कुलो निर्माण भएपछि दुल्लु नगरपालिका वडा नं–६ को महत्वपुर्ण भूभागमा सिँचाइ सुविधा पुग्ने भएकाले उत्पादन समेत वृद्धि हुने दूल्लु नगरपालिका वडा नं–६ का वडाध्यक्ष हस्त बहादुर खड्काले बताउनुभयो। सिँचाइ कुलो नहुँदा जमिन बाँझो राख्नुपर्ने समस्या रहेको भन्दै उहाँले सिँचाइ कुलो निर्माणसँगै समस्या हटेकोे बताउनुभयो । वडाध्यक्ष खड्काले बर्षौंदेखि बाँझो रहेको जमिनमा खेती लगाउन सहज भएको बताउनुभयो । उहाँले जनताका आवश्यक माग सम्बोधन गरी वडा कार्यालयले काम गरिरहेको बताउनुभयो ।


383 पटक हेरिएको 

