खानेपानी मन्त्रालयमा थप बजेटको व्यवस्था गर्न अधिकतम प्रयास गर्नेछु : मन्त्री यादव

  वास खबर सम्वाददाता  550 पटक हेरिएको

काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागमा स्वागत तथा कार्य विवरणबारे जानकारी दिन आज आयोजित कार्यक्रममा उहाँले मन्त्रालयमा थप बजेटको व्यवस्था गरी समस्या समाधानका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘खानेपानी मन्त्रालयमा बजेट अभाव छ, त्यसैले काम गर्न केही कठिनाइ छन् तर आवश्यक बजेट व्यवस्थापन गरेर समस्यामा समाधानमा लाग्नेछु’ मन्त्री यादवले भन्नुभयो ‘मन्त्रालयलाई सफल बनाउन सबै कर्मचारी र तह तप्काबीच समन्वय र सहकार्य आवश्यक छ । हामी सबै मिलेर पक्कै पनि सफलता प्राप्त गर्नेछौँ।’

तराई र पहाडी क्षेत्रमा पानीको अभाव रहेको, विशेषगरी मधेशमा वीरगञ्ज लगायत क्षेत्रमा गम्भीर समस्या देखिएको भन्दै उहाँले यी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो।

मन्त्री यादवले खानेपानीका क्षेत्रमा भइरहेका काम र समस्याबारे जानकारी लिनुका साथै स्वच्छ खानेपानी उपलब्ध गराउने उपायबारे चासो व्यक्त गर्नुभयो।

सो अवसरमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, प्रदेश र स्थानीय स्तरमा सञ्चालनमा आयोजनाहरुको अवस्था, कार्यान्वयनका क्रममा विभागले सामना गरिरहेका नीतिगत समस्या, बजेट व्यवस्थापन, आयोजनाको दिगोपना र वातावरणीय प्रभाव जस्ता प्रमुख चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो ।

विभागका गतिविधिबारे जानकारी लिनु भए पश्चात मन्त्री यादवले समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्न र प्रभावकारी ढङ्गले आयोजना सम्पन्न गर्न आवश्यक समन्वय र नीतिगत सुधारका लागि पहल अघि बढाउन मन्त्रालयका सचिव र विभागका महानिर्देशक लगायत कर्मचारीलाई निर्देशन दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार