बृहत घोप्टेखोला खानेपानी आयोजनाको साढे २८ करोडमा ठेक्का सम्झौता

  वास खबर सम्बादाता  355 पटक हेरिएको

म्याग्दी : बाह्रै महिना सुरक्षित खानेपानी सेवा प्रदान गर्ने उद्देश्यले अगाडि बढाइएको बृहत् घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता भएको छ । म्याग्दीको दुईओटा स्थानीय तहका ६ वटा वडाका दुई हजार पाँच सय बढी घरधुरीलाई खानेपानी सुविधा पुर्‍याउने योजना रहेको घोप्टेखोला खानेपानी आयोजनाको हालै ठेक्का सम्झौता भएको छ ।

३५ करोड ६३ लाख रुपैयाँ लागत अनुमान गरिएको योजनाको जिएटिआरसी–प्यागोडा–सासा जेभीसँंग २८ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका आयोजना प्रमुख सुनम थापाले जानकारी गराउनु भयो।

वि.सं २०८१ असार २४ गते सम्झौता भएको योजना २०८४ असार २३ गते सम्पन्न गर्ने लक्ष्य छ । गत आर्थिक वर्षमा दुई करोड ८० लाख बजेट प्राप्त भएको आयोजनाका लागि यस वर्ष तीन करोड रकम विनियोजन भएको छ ।

बेनी नगरपालिकाका केही वडा र रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नम्बर ५ झीँका विभिन्न बस्तीलाई लक्षित गरेर २०७३ सालमा परिकल्पना गरिएको यस आयोजनाको निर्माण गर्न पछिल्लो पटक सन २०२२ मा सर्वेक्षण गरिएको थियो । आयोजना मार्फत् १६ हजार १८६ जनसंख्या लाभान्वित हुने आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताउनुभयो ।

मुहानबाट ७६ किलोमिटर मुख्य लाइन, ८६ किमी वितरण पाइपलाइन, पानी प्रशोधन प्लान्ट लगायतका संरचना ठेक्का मार्फत् गर्न लागिएको छ ।

ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले भदौ महिनादेखि काम थाल्ने जनाएका छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार