खानीखोलाको ३ सय २३ परिवारलाई घर-घरमै खानेपानी

  वास खबर सम्वाददाता  282 पटक हेरिएको

काभ्रेपलाञ्चोक : काभ्रेको खानीखोला गाउँपालिकाको ३ सय २३ परिवारलाई घर-घरमै खानेपानी उपलब्ध गराइएको छ। गाउँपालिकाको ‘एक-घर, एक धारा’ अभियान कार्यक्रम अन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को ३ सय २३ घर परिवारमा खानेपानी उपलब्ध गराएको हो ।

योजना सम्पन्न भएपछि यही भदौमा दुई चरणमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले शुभारम्भ गर्नुभयो। गाउँपालिकाको वडा नं. ३ र ४ मा १ सय ७८ धारा निर्माण सम्पन्न भएको छ भने वडा नं ५ मा एक सय ४५ घरमा धारा जडान गरी खानेपानी उपलब्ध गराइएको अध्यक्ष थिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवै खानेपानी आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो । गाउँपालिकाले ‘दिगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान’ नाराका साथ खानेपानी आयोजना सञ्चालन गरिरहेको छ ।

अध्यक्ष थिङले खानीखोलाका २ हजार ४ सय परिवारमा स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्ने क्रममा हालसम्म ७ सय घरधुरीमा खानेपानी पु¥याइएको बताउनुभयो। “बाँकी परिवारमा क्रमशः योजना निर्माण गरी खानेपानी व्यवस्था गर्ने लक्ष्य लिएका छौँ” थिङले भन्नुभयो।

वडा नं ३ को आहाले जुरे, भाङ्टार, सौरे र चित्रे बस्ती र ४ डाँडागाउँ, बाँसघारी, सिरुटारमा नेवाको १ करोड २५ लाख ८ हजार, गाउँपालिकाको तर्फबाट ४९ लाख ८ हजार ९ सय, जनश्रमदानबाट २४ लाख ७६ हजार ५ सय ५० गरी कूल १ करोड ७६ लाख ८३ हजार ५ सयको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको थियो । उक्त खानेपानी आयोजना विसं विसं २०७९ मा सुरु गरिएको थियो ।

यस्तै खानिखोला-५ गैरीखोला तालढुङ्गामा ‘एक घर-एक धारा’ कार्यक्रम अन्तर्गत नै १ सय ४५ घरमा धारा जडानका लागि गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) तथा स्थानीय जनश्रमदान गरी १ करोड ६ लाख रुपैयाँ लगायतमा निर्माण सम्पन्न भएको छ।

उक्त खानेपानी आयोजनाको वि.सं २०८० साउन १ गते सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष थिङले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार