तराईबाट पूर्ण सरसफाइ सिक्दैछन्, हिमाल पहाड र काठमाडौ उपत्यका

 1265 पटक हेरिएको
🔗
5
Shares

बर्दिया : पूर्वी तराईका ८ जिल्ला सरसफाइका हिसाबले बदनाम भइसकेको छ । खुला ठाउँमा दिसा गरिरहेकाहरु दैनिक जसो पक्राउ परिरहनु, खुला ठाउँमा दिसा गरेबापत जरीवाना तिर्नु लगायत घटना ती जिल्लाका लागि सामान्य जस्तै भइसकेको छ । सन् २०१७ भित्र राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्य पूरा नहुनुमा पनि पूर्वी तराईका आठ जिल्ला नै बढी जिम्मेवार छन् । 

तर तराईमै यस्ता जिल्ला पनि छन्, ती जिल्लाले पूर्ण सरसफाइको नेतृत्व गरिरहेका छन् ।  बर्दिया यस्तै जिल्ला मध्येको एक हो, जहाँ पूर्ण सरसफाइमा नमुना बन्दै गएको छ । बर्दियामा सञ्चालित पूर्ण सरसफाइ कार्यक्रमबाट हिमाल, पहाड तथा काठमाडौ उपत्यकामा सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेका संघसंस्थाका पदाधिकारी समेत प्रभावित भएका छन् ।

 

कुरा यही माघ ३ र ४ गतेको हो । ग्लोबल सेनिटेशन फण्ड, यू.एन हेविटाटले पूर्ण सरसफाइ सहयोग कार्यक्रम अन्तर्गतको पहिलो समीक्षा बैठक नेपालगञ्जमा आयोजना गरेको थियो ।

समीक्षा बैठकमा बाजुरा, अर्घाखाँची, बर्दिया, र भक्तपुर अर्थात हिमाल, पहाड, तराई र काठमाडौ उपत्यकाको प्रतिनिधित्व गर्ने गरी चार जिल्लाका यु.एन. हेविटाटका जिल्ला संयोजकहरुको सहभागिता थियो ।
यस्तै बाजुराको साझेदार संस्था किर्डाक/पिसविन बाजुरा, बर्दियाको आइडिएस नेपाल/मायुस बर्दिया, अर्घाखाँचीको प्राग र भक्तपुरको सोया संस्थाबाट पूर्ण सरसफाइ सहयोग कार्यक्रमका कर्मचारीहरुपनि बैठकमा सहभागी थिए ।

 

 

पहिलो दिन चारवटै जिल्लाको पूर्ण सरसफाइ सहयोग कार्यक्रम सम्बन्धमा प्रस्तुतीकरण र छलफल गरेपछि दोस्रो दिन बर्दियाको बढैंयाताल गाउँपालिकामा पर्ने शान्तिपुर, झर्सेला र फूलबारी पूर्ण सरसफाइ नमुना टोलको अवलोकन भ्रमणमा निस्केको टोली पूर्ण सरसफाइ उन्मुख समुदाय देखेर प्रभावित भए ।

बेहुली जस्तै पूर्ण सरसफाइ उन्मुख टोलहरु

सजिसजाउ स्वागत तथा प्रवेश द्वारहरु, सचेतनामूलक, जानकारीमूलक बोर्डहरु, बाँसबाट बनेका डष्टबिन, पक्की फोहोर मलाई (डष्ट बिन), बोटबिरुवा तथा फूलका नेमप्लेटहरु, प्लाष्टिक तथा सीसाको पुनःप्रयोग गरी लगाइएका बार तथा फूलहरु, ट्युवेलमा बनेका प्लेटफर्म, भाडा सुकाउने चाङ्ग, सिलाउटा राख्ने अग्लो स्थान, सडकको दुबै छेउमा बाँसका लठ्ठी सरसफाइ स्तम्भको प्रतिकको रुपमा रंगाएर राखिएका, फूलबारीमा सिमेन्टकै सरसफाइ स्तम्भहरु, बढैंयाताल गाउँपालिकाको फूलबारी टोल, साँच्चिकै फूलबारी जस्तै सजिसजाउ थियो । फूलबारी टोल जस्तै शान्तिपुर, झर्सेला र जीपुर पनि नयाँ बेहुली झै सिंगारिएको थियो ।

 

 

‘सरसफाइ हाम्रो लागि हो र हामी सबै मिलेर यो अभियान सञ्चालन गर्ने, व्यवस्थापन गर्ने हो भन्ने भावना जगाउन शुरु शुरुमा निकै कठिन थियो । लगातारको प्रयासबाट टोलबासीमा आत्मजागरण आएको र त्यसको प्रभाव नजिकका टोलहरुमा परेको छ’ अाईडिएस नेपालका कर्मचारीहरुको अनुभवले यही भन्छ । 

 

पूर्ण सरसफाइ नमुना बस्तीहरुको भ्रमण तथा अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख शंकर थारु, बढैयाताल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, प्रहरी निरीक्षक, वडा सदस्यहरु लगायत पनि सँगसँगै हुनुहुन्थ्यो ।

अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख एवं डिवाससिसिका अध्यक्ष शंकर थारुले स्वस्थ र सभ्य एवं समृद्ध देश बनाउन सरसफाइमा हरेक नागरिक जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

यदि आफ्नो सरसफाइ पनि नगर्ने हो भने के देशको विकास तथा समाजसेवामा टेवा पु-याउन सकिन्छ ? भन्दै उहाँले अब बर्दिया जिल्लाका अन्य समुदायले पनि पूर्ण सरसफाइ उन्मुख शान्तिपुर, फूलबारी, झर्सेला, जीपुर लगायतका टोलबाट सिकेर आफै पूर्ण सरसफाइमा लाग्नुपर्ने बताउनुभयो ।

 

 

बढैयाताल गाउँपालिकाका अध्यक्षले सडक बिस्तार कार्य सकेपछि बाटोको दुवै किनारामा बृक्षारोपण गर्न सहयोग गर्ने घोषणा गर्नुभयो ।

समुदायलाई पुर्ण सरसफाइ उन्मुख बनाउन महिलाको भूमिकाको कदर गर्दै युएन हेविटाट, जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं वडा अध्यक्ष बाट संयुक्त रूपमा मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।


फूलबारीमा सरसफाइ नाटक, सरसफाइ थारु नाच र कविता प्रस्तुतीकरण गरिएको थियो ।

पूर्ण सरसफाइ उन्मुख समुदायको अवलोकन भ्रमणपछि ग्लोबल सेनिटेसन फण्ड कार्यक्रमका प्रबन्धक सुधा श्रेष्ठ, सरसफाइ तथा स्वच्छता विज्ञ मदन मल्ल र वास कोओर्डिनेटर राजेश मानन्धरले पूर्ण सरसफाइ उन्मुख समुदायको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

बर्दियामा ग्लोबल सेनिटेसन फण्ड यू.एन हेविटाटको सहयोगमा आइ.डि.स.नेपाल /मायुसले अगस्ट २०१७ देखि पूर्ण सरसफाइ अभियानको सहजीकरण गरिरहेको छ ।

फोटोहरु : यु एन हेविटाटका बर्दिया जिल्ला संयोजक बिष्णु दवाडी ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार