६८ हजार ६८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्क जडान

  वास खबर सम्बाददाता  318 पटक हेरिएको


काठमाडौ : आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले मेलम्चीको खानेपानी आपूर्ति हुँदै आएका घरहरू मध्ये ६८ हजार ६८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्क रूपमा जडान गरेको छ।

निर्देशनालयको मेलम्ची उप–आयोजना २ अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण गरिएका खानेपानी वितरण सञ्जाल (DMA) का नयाँ पाइपलाइनबाट यही चैत १८ गतेसम्ममा ६८ हजार ६८३ घरमा मिटन जडान गरिएको पिआईडीले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

पिआईडीले नयाँ पाइपलाइन मार्फत खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये ८५ प्रतिशतभन्दा बढी घरमा खानेपानीका नयाँ मिटर जडान गरिसकेको जनाएको छ । मिटर जडान हुन बाँकी घरहरूमा समेत निःशुल्क रूपमा खानेपानीका नयाँ मिटर जडान गर्ने कार्य जारी रहेको पिआईडीका आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई. बिकेश बधानथाछेले जानकारी दिनुभयो ।

पिआईडीले यस अघि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई १४ वटा खानेपानी वितरण सञ्जाल हस्तान्तरण गरिसकेको छ भने थप ११ वटा खानेपानी वितरण सञ्जाल हस्तान्तरणको तयारीमा रहेको छ ।

‘हाल हस्तान्तरणको चरणमा रहेका ११ वटा र हस्तान्तरण हुन बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनबाट खानेपानी वितरण हुँदै आएका बाँकी घरहरूमा समेत निःशुल्क रूपमा खानेपानीका नयाँ मिटर जडान गरिनेछ’ पिआईडीले भनेको छ ।

नमूनाका रूपमा काठमाडौंका चःमती क्षेत्रमा ३७० र अनामनगर क्षेत्रमा ४६७ गरी जम्मा ८३७ घरमा खानेपानीका स्मार्ट मिटर निःशुल्क रूपमा जडान गरिएको छ । यसरी जडान गरिएका स्मार्ट मिटरहरूको रिडिङ काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरी शाखामा रहेको केन्द्रीय नियन्त्रण कक्षबाट अत्याधुनिक SCADA प्रणाली मार्फत गर्न थालिएको छ ।

यसैगरी, अन्तिम परीक्षण लगायतका कार्य सम्पन्न गरिएका थप ११ वटा खानेपानी वितरण सञ्जालका करिव ३७७ किलोमिटर पाइपलाइनको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको पिआईडीले जनाएको छ ।

‘बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका करिव २५३ किलोमिटर पाइपलाइनको स्वामित्व पनि छिट्टै नै बोर्डलाई हस्तान्तरण गर्ने गरी अन्तिम परीक्षण लगायतका कार्यलाई तीब्रता दिइएको छ’ पिआईडीदवारा जारी प्रेस नोटमा उल्लेख छ ।

यसअघि, दुईपटकमा गरी विभिन्न १४ वटा खानेपानी वितरण सञ्जालका जम्मा ३५० किलोमिटर नयाँ पाइपलाइनको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको छ ।

काठमाडौं उपत्यकामा करिव ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिव ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल तयार भएको छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार