बर्दिया सन् २०२० सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला

🔗
6
Shares

बर्दिया : बर्दियालाई सन् २०२० सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला बनाउन बहु क्षेत्रगत सरोकारवाला निकायका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । ‘सफा घर स्वस्थ परिवार, सुन्दर सम्बृद्ध गाउँ शहर, बर्दियाको आफ्नै छ रहर’ भन्ने नारा सहित बर्दियाको गुलरियामा आयोजित बहु सरोकारवालाहरुको फोहोरमैला व्यवस्थापन तथा पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण तथा सचेतीकरण कार्यशालाका सहभागीले जिल्लालाई तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन स्वतस्फुर्त रुपमा पूर्ण सरसफाइ अभियानमा लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यशालामा खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्रमुख दिलीप कुमारले नेपालमा खानेपानी र सरसफाइको वर्तमान अवस्था र बर्दियामा खानेपानी र पूर्ण सरसफाइको अबस्थाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

यस्तै, ठोस फोहोरमैला व्यवस्थापनको वर्तमान अवस्था र आगामी बाटो सम्बन्धमा गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँल्े दैनिक ५ टन फोहोर उत्पादन हुने गुलरिया नगरपालिकामा अहिले साढे १ टन मात्रै व्यवस्थापन हुने गरेको, जिल्लामा भएको ल्याण्ड फिल साइट र दिसाजन्य लेदो प्रशोधन केन्द्र प्रयोगमा रहे पनि अझै प्रभावकारी नभएको बताउनुभयो ।

कार्यशालाका सहभागीले फोहोरमैला वर्गीकरण गरी व्यवस्थापन गर्न गराउन गुलरिया नगरपालिकाले स्थानीय सरोकारवालालाई सचेत पार्नुपर्ने आवश्यकता औल्याएका थिए । सहभागीले सन् २०२० सम्ममा बर्दियालाई पूर्ण सरसफाइ उन्मुख जिल्ला बनाउन हरेक व्यक्ति, घर, कार्यालय, संघसंस्था तथा व्यवसायीहरु फोहोर व्यवस्थापनमा जिम्मेवार बन्नु पर्ने बताए ।

कार्यशालाका प्रमुख अतिथि एवं सहायक प्रमुख जिल्ला अधिकारी गुञ्ज बहादुर एम.सि.ले टोल टोलले सरसफाइ कार्य योजना बनाएर कार्य गर्नुपर्ने बताउनुभयो ।

कार्यशालाका अध्यक्ष समेत रहेका स्थानीय विकास अधिकारी बिश्वमित्र कुइकेलले फोहोरमैलाबाट तर्सिने नभइ व्यवस्थापन गरी सरसफाइ केन्द्र बनाउन  आग्रह गर्नुभयो । वहाँले जनचेतना अभिबृद्धि गरी फोहोर वर्गीकरण प्रक्रिया अवलम्बन गर्न पनि सल्लाह दिनुभयो । 

विगतमा चर्पी नहुँदा वा खुल्ला दिसामुक्त अबस्था हासिल नहुँदा गाउँ आयो गु गन्हायो भन्ने उखान अब फोहोर आयो शहर आयो भन्ने अवस्था आउन नदिन, ब्रम्हाण्डमा रहेका अन्य ग्रहमा मानव बसोबास नहुनुको मुख्य कारण पानी र हावाको अनुपस्थिती भएकाले जल, जमिन र हावालाई स्वच्छ बनाउन सबै लाग्नु पर्ने यु.एन. हेविटाटका जिल्ला संयोजक एवं डिवाससिसिका सदस्य बिष्णु दवाडीको धारणा थियो ।  

‘बहु सरोकारवालाहरुको फोहोर व्यवस्थापन तथा पूर्ण सरसफाइ सम्बन्धी अभिमुखिकरण तथा सचेतीकरण कार्यशाला’ ग्लोबल सेनिटेसन फण्ड यु.एन हेविटाटको सहयोग र एकीकृत विकास समाज (आई.डि.एस.) नेपाल र मायुस बर्दियाको सहजीकरणमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार