
काठमाडौं : हिमाल सफा राख्न सरकारले अब हिमालको सामर्थ्य वा बहन क्षमता हेरेर आरोही संख्या र समय तोक्ने भएको छ । हिमालमा थुप्रिएको फोहोर सफा गर्ने र नयाँ फोहोर कम गर्ने उद्देश्य सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल सफा राख्ने सम्बन्धी ५ वर्षे कार्ययोजना लागु गरेको छ ।
२८ मंसिरमा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत उक्त कार्ययोजना अनुसार अब आरोहणका लागि हिमालमा मागेजति अनुमति दिइने छैन ।
‘हिमालको सामर्थ्य वा बहन क्षमता, आरोहणका लागि उपलब्ध हुने छोटो अनुकूल मौसम तथा हिमालमा हुन सक्ने भिड दृष्टिगत गर्दै आरोही संख्या र समय तोक्ने गरी कानुनी तथा नीतिगत प्रबन्ध गर्ने,’ कार्ययोजनामा उल्लेख छ ।
अहिले सर्वोच्च शिखर सगरमाथा सहित हिमालमा अत्यधिक संख्यामा अनुमति दिँदा समग्र व्यवस्थामा समस्या आएको गुनासो आइरहेको छ । साथै, यस्तो जोखिम कम गर्न सरकारले फोहोर व्यवस्थापनमा कडाइ गर्ने, धरौटी हटाउने, प्रविधिको अधिक प्रयोग गर्ने, जनशक्ति विकासमा प्राथमिकता दिने र फोहोर विसर्जनमा कडाइ गर्नेसम्मका कार्यक्रमरक्रियाकलाप समेटेर नयाँ कार्ययोजना (२०८२/८६) ल्याएको हो ।
२९ मे १९५३ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङनोर्गे शेर्पाले सगरमाथा चुचुरोमा पहिलो सफल आरोहण गरेसँगै व्यावसायिक हिमाल आरोहण सुरु भएको हो ।
यससँगै सगरमाथा र उच्च हिमाली क्षेत्रको भूगोल, पर्यावरण, जैविक विविधताबारे चासोसमेत सुरु भयो । सगरमाथा सहित हिमालमा आरोही संख्या निरन्तर बढ्न थाल्यो । जसले हिमालमा जैविक र अजैविक वस्तुको परिमाण बढ्दै गएको मन्त्रालयले कार्ययोजनामा उल्लेख गरेको छ ।
सगरमाथा लगायत नेपालका सयौं हिमाली पाटन, हिमताल र हिमनदी हिमाली क्षेत्रको जैविक विविधता र वन्यजन्तु पर्यटन प्रयोजनका लागि अतुलनीय सम्पदा हुन् ।
नेपालको साहसिक पर्यटन उद्योगका धमनी हिमाल स्वच्छ जलभण्डार समेत हो । हजारौं नदी तथा खोलाका माध्यमबाट करोडौं जीवजन्तु, वनस्पतिको प्राण बचाउने स्वच्छ पानीको भण्डार समेत हिमालय क्षेत्र हो ।
तर, हिमाल आरोही र पदयात्रीले प्रयोग गर्ने तथा पर्वतारोहीबाट उत्पन्न हुने ९मलमूत्र०, मृत शरीर, क्यान, बोतल, प्लास्टिक, टेन्ट, पाउच, झोलाजस्ता वस्तुको उचित व्यवस्थापन गर्न नसके हिमाली क्षेत्रकै पर्यावरणमा नकारात्मक असर पुग्ने भन्दै सरकारले नयाँ कार्ययोजना ल्याउनुपरेको मन्त्रालयको तर्क छ ।
विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमा छन् । नेपालमा २८ हिमशृङ्खला छन् । यी हिमशृङ्खला ६ हजारभन्दा बढी साना–ठूला नदी र खोलाको प्रमुख स्रोत हुन् ।
नेपालभरि ५ हजार ३ सय ५८ ताल र २ हजार २ सय ३२ हिमताल रहेको आँकडा छ । ६ हजार मिटरमाथिका १ हजार ३ सय १० चुचुरो नेपालमा छन् । तर, नेपालमा हिमाल आरोही संख्या बढेसँगै स्थानीय वातावरण, जैविक विविधता, प्रदूषण, फोहोर उत्सर्जन लगायत चुनौती थपिँदै गएका छन् ।
अहिले पनि पर्वतारोहीले कति सामग्री बोक्ने, कुन–कुन र कस्ता सामग्री लिएर जान सक्ने, प्रयोग भइसकेका सामग्री व्यवस्थापन कसरी गर्ने, मलमूत्र सहित सड्ने र नसड्ने सामग्री कसरी व्यवस्थापन गर्ने जस्ता विषयमा नियम, मापदण्ड र नियामक औजार कार्यान्वयनमा छन् ।
त्यसबाहेक भौगोलिक र वातावरणीय कठिनाइ, कमजोर पूर्वाधार, उच्च गुणस्तरीय प्रविधि अभावले अपेक्षा अनुसार उपलब्धि प्राप्तिमा कठिनाइ भइरहेको देखिएको मन्त्रालयको विश्लेषण छ ।
जलवायु परिवर्तन असरले तीव्र गतिमा पग्लिँदै हिउँ, देखिन थाल्यो पुरानो फोहोर
मन्त्रालयका अनुसार अहिलेकै अनुपातमा तापक्रम वृद्धि भए यही शताब्दीभित्र ३६ प्रतिशत र कार्बन उत्सर्जन उही अवस्थामा रहे ६४ प्रतिशत हिउँ पग्लिने जोखिम छ ।
सगरमाथाको २१ पटक सफल आरोहण गरेका कीर्तिमानी आरोही आप्पा शेर्पाको अनुभवमा हिमताल तथा हिमनदीको आकार बढेको छ । सगरमाथाको क्याम्प २, ३ र ४ मा पुराना फोहोर सतहमा देखिन थालेको छ ।
सगरमाथा सरसफाइ अभियानका सदस्य तथा आरोही पासाङ शेर्पाका अनुसार साउथपोल माथिको भाग र क्याम्प २ आसपास बढी फोहोर थुप्रिएको छ ।
अर्का आरोही पेम्बा दोर्जे शेर्पालाई उद्धृृत गर्दै मन्त्रालयले भनेको छ, ‘साउथ पोलदेखि हिलारी स्टेपसम्म मृत मानव शरीर छरिएर रहेको देखिन्छ ।’
मन्त्रालयका अनुसार आरोहणको सुरुवाती चरणमा आरोहीले फोहोर व्यवस्थापनमा कम ध्यान दिए । जसले गर्दा हिमालमा फोहोर थुप्रिँदै गयो । चिसो मौसमका कारण यस्तो सामग्री वर्षौंसम्म जस्ताको तस्तै रहे । जसले गर्दा आज पनि आरोहीले फोहोरमा टेक्दै हिमाल चढ्नुपर्ने बाध्यता छ ।
सरकारको ५ वर्षे कार्ययोजनामा आरोहणमा जानुपूर्व गरिने ब्रिफिङमै सफा हिमाल सम्बन्धी अभिमुखीकरणको विषय समावेश गरिने भएको छ । सोही क्रममा आरोहण दलको टोली नेता, सदस्य, एजेन्सी र सम्पर्क अधिकृतबाट लिखित प्रतिबद्धता लिइने भएको छ ।
हिमालको चुचुरोसम्म बाटो खोल्ने कामको जिम्मेवारी दिइँदा त्यसमा प्रयोग भएका सामग्री अब आरोहण सकिएपछि अनिवार्य फिर्ता ल्याउनुपर्ने सर्त राखिएको छ ।
पर्वतारोहण दलका सदस्यले आफूसँग लैजाने सामानको सूची तयार गरी पर्वतारोहण प्रस्थान बिन्दुमा ती सामान प्रविष्ट गर्ने र पर्वतारोहण गरी फर्कने क्रममा फिर्ता ल्याएका सामान अनिवार्य एक्जिट बिन्दुमा प्रविष्ट गर्ने व्यवस्था गरिने भएको छ ।
सगरमाथा क्याम्प २ मा अस्थायी संकलन केन्द्र
कार्ययोजना अनुसार सगरमाथाका हकमा क्याम्प २ मा अस्थायी संकलन केन्द्र राखिने भएको छ । क्याम्प २ भन्दा माथि फोहोर हुन नदिन र भएको फोहोर घटाउन पर्यटन विभागले तोकेको न्यूनतम परिणामको फोहोर हरेक पर्वतारोहण दल र आरोहीले फिर्ता ल्याई क्याम्प २ मा अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरिने भएको छ ।
फोहोरमैला व्यवस्थापन र हिमाली तथा पर्वतीय पर्यटन प्रवर्द्धनका लागि तहगत, निकायगत र कार्यगत सहकार्यका लागि संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि सहित सरोकारवाला समावेश सहजीकरण संयन्त्र बनाइने समेत कार्ययोजनामा उल्लेख छ ।
पर्वतारोहण बढी हुने हिमालको आधार शिविरमा प्रमुख सिजनमा अस्थायी फिल्ड स्थापना गरी नियमित अभिमुखीकरण, अनुगमन र सहजीकरणको योजना समेत राखिएको छ ।
छलफल र सचेतना कार्यक्रममा जोड, धरौटीलाई शुल्कमा रूपान्तरण
यस अवधिमा सरोकारवालाबीच अधिक छलफल र सचेतनामूलक कार्यक्रममा जोड दिइने भएको छ । एजेन्सी, गाइड र आरोहीलाई बढी जिम्मेवार बनाउने गरी रणनीति बनाइने भएको छ ।
यसबीच पर्वतारोहीबाट फोहोरमैला व्यवस्थापन बापत लिइँदै आएको धरौटीलाई पर्वतीय सरसफाइ शुल्कमा रूपान्तरण गरी वातावरण संरक्षण तथा पर्वतारोही कल्याणकारी कोषका रूपमा प्रयोग गर्ने कानुनी प्रबन्ध गर्नेसमेत कार्ययोजनामा उल्लेख छ ।
सफा हिमाल सम्बन्धी विषयलाई आरोहण गतिविधि बढी हुने हिमाल अवस्थित स्थानीय तहको पाठ्यक्रममा समावेश गरिने भएको छ ।
सबै तहका सरकारले बजेट राख्नुपर्ने
अब सबै तहका सरकारले हिमाल सरसफाइमा छुट्टै बजेट विनियोजन गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ । पुरानो फोहोर तथा मानव शव व्यवस्था गर्न हरेक वर्ष अभियान नै चलाउने समेत रणनीति छ ।
सफा हिमाल कार्यक्रम अन्तर्गत साझेदारबीच कम्तीमा वर्षको २ वटा अन्तर्क्रिया गरिने भएको छ । हिमालको आधार शिविर वा पायक पर्ने स्थानमा फोहोर वर्गीकरण, संकलन तथा प्रशोधन केन्द्र बनाइने भएको छ ।
रोपवे र ड्रोन प्रयोगबारे सम्भाव्यता अध्ययन
आगामी ५ वर्षमा आरोहण गतिविधि अधिक हुने हिमालको आधार शिविरभन्दा माथिको फोहोरमैला संकलनमा रोपवे तथा ड्रोन प्रयोगको सम्भाव्यता अध्ययन गरिने भएको छ ।
मानव शवको अवस्थिति पहिचानमा सहज हुने गरी जीपीएस ट्र्याकिङ सिस्टम अभ्यास परीक्षण समेत यस अवधिमा गरिने भएको छ ।
हिमालको आधार शिविरभन्दा माथिको फोहोरमैला र शव संकलन र अनुगमन गर्न तालिमप्राप्त अनुभवी पर्वतारोहीको समूह ९रेन्जर टिम० गठन गरिने भएको छ । उनीहरूलाई स्पष्ट जिम्मेवारी सहित परिचालन लक्ष्य राखिएको छ । Onlinekhabar बाट साभार गरिएको।


185 पटक हेरिएको 

