सानीभेरी गाउँपालिकामा पहिलो पटक ७ दिने पानी परीक्षण शिविर

  वास खबर सम्बाददाता  587 पटक हेरिएको


रुकुम पश्चिम : सानीभेरी गाउँपालिकामा पहिलोपटक ७ दिने पानी परीक्षण शिविर सञ्चालनमा आएको छ। वास इकाइ शाखाको आयोजनामा सानीभेरी गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन गरिएको उक्त शिविरको औपचारिक शुभारम्भ गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि विर्ख बहादुर बिष्टले गर्नु भएको हो ।

शिविरको शुभारम्भ समारोहमा अध्यक्ष बिष्टले खानेपानी तथा सरसफाइ टेक्निसियन पवन केसीलाई संकलन गरिएका पानीका नमुना हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले गाउँपालिकाका सबै वडाबाट पानी परीक्षणका लागि आवश्यक सहयोग र सहकार्य गर्न सबैलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष कमला रोकायाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका खानेपानी योजनाहरुबाट धेरैभन्दा धेरै खानेपानी योजनाहरूको पानी शिविर मार्फत परीक्षण गर्न अनुरोध गर्नुभयो।

कार्यक्रममा सुस्वा आयोजनाका सुशासन विज्ञ निराजन श्रेष्ठले पालिकास्तरीय पानी परीक्षणले गाउँपालिका भित्रका खानेपानी योजनाहरूको पानीको गुणस्तर परीक्षणबाट प्राप्त तथ्यांकको प्रयोगले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू तथा आम खानेपानी प्रयोगकर्तालाइ जोखिमबारे चेतना बढाउने, छलफललाई प्रवर्द्धन गर्ने तथा खानेपानी स्रोतको सुरक्षा, सञ्चालन, व्यवस्थापन तथा नियमितता प्रति सरोकारवालाहरुलाइ उत्तरदायित्व बनाउने अपेक्षा व्यक्त गर्नभयो ।

त्यसैगरी, खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका रसायनशास्त्री अमृत अधिकारीले कर्णाली प्रदेश कार्यालयमा पानी परीक्षण सुविधा उपलब्ध रहेको जानकारी गराउँदै आगामी दिनमा पालिकालाई आवश्यक सहयोग चाहिएको खण्डमा समन्वय गर्न सकिने बताउनुभयो।

वास सल्लाहकार राजु चौधरीले पानीको गुणस्तर परीक्षणलाई सहज, सरल र प्रभावकारी बनाउन पालिका स्तरमा शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस किसिमको शिविरले स्थानीयस्तरमै पानी परीक्षण गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नेछ।

निमित प्रमुख प्रशासकीय अधिकृत एवम समारोहका अध्यक्ष मिलन रेग्मीले पालिकामा आधारभुत स्तरको पानी परीक्षण ल्याव र जनशक्त्ति रहेको र आगामी दिनमा थप उचित र प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिद्धता जनाउँदै सफलताको शुभकामना व्यक्त गर्नु भयो।

सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजना ९सुस्वा० को आयोजना सहयोग कार्यालयको सहजीकरणमा आयोजना कार्यरत सबै पालिकाहरुमा अभियानको रुपमा यस प्रकारको शिविर सञ्चालन गरिने भएको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार