जाजरकोट र पश्चिम रुकुममा पहिलो पटक पानी गुणस्तर परीक्षण शिविर

  वास खबर सम्बाददाता  380 पटक हेरिएको


जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका तथा पश्चिम रुकुमका सानीभेरी र त्रिवेणी गाउँपालिकामा आम नागरिकको जनस्वास्थ्य संरक्षणलाई केन्द्रमा राख्दै व्यापक खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन भइरहेको छ। पानीकै कारण फैलिने रोगको जोखिम न्यूनीकरण गर्दै सुरक्षित खानेपानी सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानलाई जिल्लाकै ऐतिहासिक र नमूना पहलका रूपमा हेरिएको छ।

सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) को सहयोगमा पुस महिनाको पहिलो हप्तादेखि सुरु भएको शिविर पुसको दोस्रो हप्तासम्म सञ्चालन हुनेछ। पालिकाभर सञ्चालनमा रहेका खानेपानी योजनाहरूबाट आपूर्ति हुने पानीको वास्तविक अवस्था पहिचान गरी सुधारको आधार तयार गर्नु अभियानको मुख्य लक्ष्य हो।

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्ख बहादुर बिस्टले पानीजन्य रोगबाट समुदायलाई जोगाउन र सुरक्षित पानीप्रति नागरिकको चेतना अभिवृद्धि गर्न यो शिविर अत्यन्तै प्रभावकारी हुने बताउनुभयो। उहाँका अनुसार, यस्तो पहलले दीर्घकालीन रूपमा जनस्वास्थ्य सुधारमा ठोस योगदान पुर्‍याउनेछ।

यसैगरी, सानीभेरी गाउँपालिकाका WASH युनिट संयोजक शेरबहादुर वलीले जिल्लामै पहिलोपटक यति व्यवस्थित रूपमा पानी परीक्षण र जनचेतनामूलक अभियान सञ्चालन हुनु कोसेढुंगा सावित हुने उल्लेख गर्नुभयो।

शिविरबाट प्राप्त परीक्षण नतिजाहरू नेपाल सरकारको N-WASH MIS प्रणालीमा प्रविष्ट गरिनेछ। यसका लागि SUSWA आयोजनाले यसअघि नै पालिकाका WASH युनिटका कर्मचारीहरूलाई आवश्यक प्राविधिक तालिम प्रदान गरिसकेको छ। SUSWA आयोजना सहयोग इकाइका प्रतिनिधि सुशासन बिज्ञ इ. निराजन श्रेष्ठका अनुसार पुस–माघ महिनामा सञ्चालन हुने पहिलो चरणका शिविरहरूमा निरन्तर अनुगमन तथा प्राविधिक पृष्ठपोषण प्रदान गरिनेछ।

समुदाय, सामुदायिक विद्यालय तथा सार्वजनिक संस्थाले प्रयोग गर्दै आएका खानेपानी योजनाहरूको पानी इन्फो किट तथा वाक–टेस्ट प्रविधि प्रयोग गरी परीक्षण गरिएको छ। शिविरमा ई–कोली, टोटल कोलिफर्म, pH, EC, धमिलोपन, आइरन, क्लोराइड, अमोनिया, हार्डनेस लगायतका सूचकहरूको परीक्षण गरी आधारभूत स्तरको पानी गुणस्तर मूल्याङ्कन गरिएको छ।

नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर परियार अनुसार, हाललाई उपभोक्ताहरूलाई पानी परीक्षण सेवा निःशुल्क प्रदान गरिएको छ। प्रत्येक वडामा रहेका खानेपानी योजनाहरूको परीक्षण तथा प्रतिवेदन तयार गर्न वडा कार्यालयहरूसँग समन्वय गर्दै शिविर सञ्चालन गरिएको हो।

परीक्षणपछि प्राप्त तथ्यांकका आधारमा जोखिम देखिएका खानेपानी योजना क्षेत्रहरूमा खानेपानी सुरक्षा योजना अनुसार तत्काल सुधारात्मक कार्य अघि बढाइनेछ। साथै, उपभोक्ता समितिहरूलाई सुरक्षित र गुणस्तरीय सेवा प्रवाहका लागि क्षमता विकास कार्यक्रमहरू समेत निरन्तर रूपमा सञ्चालन गरिनेछ।

विगत दुई दशकयता नेपालमा खानेपानीको पहुँचमा उल्लेखनीय सुधार भए पनि, पानी सुरक्षित नहुँदा अझै पनि पानीजन्य रोगहरू चुनौतीका रूपमा रहेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार विकासोन्मुख देशहरूमा करिब ८० प्रतिशत रोग प्रदूषित पानीसँग सम्बन्धित हुने तथ्यले सुरक्षित खानेपानी परीक्षणको आवश्यकता झनै स्पष्ट पारेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार