रास्वपाको वाचापत्र : आर्सेनिकमुक्त तराई अभियान सञ्चालन गर्ने, सरसफाइमा मौन

  वास खबर संवाददाता  184 पटक हेरिएको


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्र मार्फत सुरक्षित पानी, फोहोर व्यवस्थापन, वायु प्रदूषण नियन्त्रण तथा स्वच्छ ऊर्जामा आधारित समग्र वातावरणीय सुधारका कार्यक्रम सार्वजनिक गरेको छ।

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको हो।

आर्सेनिकमुक्त तराई अभियान

रास्वपाले तराईका विभिन्न जिल्लामा देखिएको आर्सेनिकको गम्भीर जनस्वास्थ्य समस्यालाई राष्ट्रिय सङ्कटका रूपमा स्वीकार गर्दै ‘आर्सेनिकमुक्त तराई अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ।

पार्टीले सबै नागरिकका लागि सुरक्षित पिउने पानी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै विशेष गरी आर्सेनिक प्रभावित क्षेत्रमा परीक्षण, उपचार र दीर्घकालीन समाधानका कार्यक्रम अघि बढाइने जनाएको छ।

घरमै फोहोर छुट्याउने र ऊर्जा उत्पादन

देशका मुख्य शहरी क्षेत्रमा घरमै फोहोर छुट्याउने व्यवस्था लागू गर्ने तथा फोहोरबाट ऊर्जा उत्पादन परियोजना सुरु गर्ने योजना रास्वपाले अघि सारेको छ। फोहोरलाई समस्या नभई स्रोतका रूपमा उपयोग गर्ने अवधारणासहित ‘चक्रीय अर्थतन्त्र’ प्रवर्द्धन गर्ने नीति पार्टीले लिएको छ।

यस क्षेत्रमा कार्यरत निजी क्षेत्र र सहकारी संस्थालाई आधुनिक मेसिनरी तथा प्रविधि खरिदमा विशेष कर छुट र अनुदानको व्यवस्था गर्ने घोषणा पनि वाचापत्रमा समेटिएको छ।

वायु प्रदूषण नियन्त्रण

रास्वपाले नागरिकको स्वच्छ हावा फेर्न पाउने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा वायु प्रदूषणलाई विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डभित्र ल्याउन बहुपक्षीय योजना लागू गर्ने जनाएको छ।

यातायात साधन, ईटा भट्टा तथा उद्योग–कलकारखानाबाट हुने उत्सर्जनका नयाँ मापदण्ड तयार गरी कडा कार्यान्वयन गरिने पार्टीको योजना छ। साथै फोहोर तथा कृषि अवशेष खुला रूपमा जलाउने कार्यलाई पूर्ण प्रतिबन्ध लगाइने उल्लेख गरिएको छ।

दाउरा वा गुइँठा प्रयोग गर्न बाध्य परिवारलाई स्वच्छ इन्धनमार्फत खाना पकाउन सक्षम बनाउन विशेष अभियान सञ्चालन गरिने र यसले विशेषगरी महिला तथा बालबालिकाको स्वास्थ्य जोखिम न्यूनीकरणमा योगदान पुर्‍याउने रास्वपाको दाबी छ।

सीमापार प्रदूषणमा कूटनीतिक पहल

सीमापारबाट आउने वायु प्रदूषण र तुवाँलोको नियमित मापन गरी छिमेकी राष्ट्रहरूसँग कूटनीतिक वार्ता अघि बढाइने योजना पनि वाचापत्रमा समेटिएको छ। रास्वपाले वातावरण, स्वास्थ्य र दिगो विकासलाई एकीकृत रूपमा सम्बोधन गर्ने नीति लिएको दाबी गर्दै यी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

सरसफाइमा मौन

वाचापत्रमा खानेपानी, फोहोर व्यवस्थापन र वायु प्रदूषण नियन्त्रणबारे कार्यक्रम सार्वजनिक गरिएको भए पनि सरसफाइ र स्वच्छता पूर्वाधार विस्तार, शौचालयको दिगोपना, ढल व्यवस्थापन तथा मानव मलमूत्र व्यवस्थापनबारे भने उल्लेखनीय नीति र कार्ययोजना देखिएको छैन।

खुला दिसामुक्त अभियानको दिगोपना र शहरी ढल व्यवस्थापन सुधारबारे पार्टी मौन देखिएको छ।

हेर्नुहोस् वाचा पत्र:

RSP


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार