
लहान : घरघरमा शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ तथा वातावरणीय स्वच्छताको महत्वबारे जनचेतना फैलाउन लहानमा सडक नाटक प्रदर्शन गरिएको छ। ‘घरघरको शान स्वच्छता अभियान’ अन्तर्गत स्थानीय बस्तीमा सडक नाटक सहित जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो।
अभियानमा सहभागी बालबालिका, महिला तथा स्थानीय बासिन्दाहरूले विभिन्न सन्देशमूलक प्लेकार्ड बोकेर बस्तीका सडकमा पदयात्रा गरेका छन्। सहभागीहरूले शौचालयको नियमित प्रयोग, खुला दिसामुक्त व्यवहारको निरन्तरता, व्यक्तिगत सरसफाइ तथा सफा वातावरण निर्माणका लागि समुदायको भूमिका महत्वपूर्ण रहेको सन्देश दिएका छन् ।
अभियानका क्रममा प्रस्तुत गरिएको सडक नाटक मार्फत सरसफाइलाई घर वा व्यक्तिको विषयका रूपमा मात्र नभई समुदायको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने सन्देश प्रवाह गरिएको छ। नाटकमा दैनिक जीवनमा अपनाउनुपर्ने सरसफाइ व्यवहार, शौचालयको प्रयोग तथा स्वच्छ वातावरणको महत्वलाई स्थानीय समुदायले बुझ्ने गरी प्रस्तुत गरिएको थियो।
बस्तीका साँघुरा सडक हुँदै अगाडि बढेको जनचेतनामूलक समूहमा बालबालिकादेखि महिला तथा स्थानीय बासिन्दासम्मको सहभागिता थियो। हातमा सरसफाइ सम्बन्धी सन्देश लेखिएका प्लेकार्ड र ब्यानर बोकेर सहभागीहरूले समुदायमा स्वच्छता अभियानको सन्देश पुर्याएका छन्।
खुला ठाउँमा दिसापिसाब गर्ने प्रवृत्ति अन्त्य गर्दै प्रत्येक घरमा शौचालयको पहुँच र प्रयोग सुनिश्चित गर्नु अभियानको उद्देश्य रहेको अभियानकी युथ च्याम्पियन करिना विक, सदायाले बताउनुभयो। शौचालय निर्माण मात्र गरेर नहुने र त्यसको नियमित प्रयोग, सरसफाइ तथा सुरक्षित व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने सन्देश अभियान मार्फत दिइएको उहाँको भनाइ छ।

स्थानीय समुदायमा प्रत्यक्ष पुगेर गरिने यस्ता जनचेतनामूलक कार्यक्रमले सरसफाइ सम्बन्धी व्यवहार परिवर्तनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी बालबालिका र युवाको सहभागिताले घरपरिवारमा समेत सरसफाइका सन्देश पुर्याउन सहयोग गर्ने लहान नगरपालिकाको वडा नं. १६ की युथ च्याम्पियन अन्जना कुमारी साहले बताउनुभयो।
सरसफाइ सम्बन्धी अभियानलाई प्रभावकारी बनाउन समुदायको सहभागिता, स्थानीय तहको नेतृत्व तथा निरन्तर जनचेतनामूलक गतिविधि आवश्यक हुने सरोकारवालाहरूको भनाइ छ। घरघरमा शौचालय निर्माण सँगै यसको नियमित प्रयोग र स्वच्छता कायम गर्ने बानीलाई समुदायको दैनिक जीवनसँग जोड्नुपर्नेमा पनि जोड दिइएको छ।

लहान नगरपालिका २०१७ मै खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि सरसफाइ अवस्था विश्लेषण, सरसफाइ सामाजिक नक्सांकन, तथा घरधुरी सर्वेक्षणले करिब १७ प्रतिशत परिवार पुनः खुला दिसातर्फ फर्किएको तथ्य उजागर गरेको थियो। सर्वेक्षण अनुसार ३ हजार ८०१ घरधुरीमा शौचालयको अभाव रहेको र ४ सय घरधुरीमा शौचालय बिग्रिएको वा प्रयोगयोग्य नभएको पाइएको थियो।
विश्व शौचालय दिवस, १९ नोभेम्बर २०२५ को अवसर शुभारम्भ गरिएको “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत नगरका सबै २४ वडामा खुला दिसा अन्त्य गर्ने, घरायसी शौचालयको प्रयोग, मर्मत र व्यवस्थापनमा सुधार ल्याउने, सीमान्तकृत समुदायको सरसफाइ पहुँच र निर्णय प्रक्रियामा सहभागिता बढाउने र सरसफाइलाई गर्व, पहिचान तथा सामूहिक दायित्वका रूपमा स्थापित गर्ने लक्ष्य हासिल गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।


161 पटक हेरिएको 

