
काठमाडौ : १२औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न जोड दिएको छ।
नेपाल भौगर्भिक समाजद्वारा आयोजित तीनदिने सम्मेलनमा हिमालयको भूवैज्ञानिक विकास, भूकम्प, पहिरो, जलवायु परिवर्तन, जलस्रोत, खनिज स्रोत, उत्थानशील पूर्वाधार तथा आधुनिक भूवैज्ञानिक प्रविधिका विषयमा गहन छलफल भएको समाजका अध्यक्ष भास्कर खतिवडाले बताउनुभयो।
सम्मेलनमा नेपालसहित २७ देशका ३४५ जना भूवैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा सरोकारवालाको सहभागिता रहेको थियो। सम्मेलनका क्रममा हिमालयन भूविज्ञान, टेक्टोनिक्स, इन्जिनियरिङ भूविज्ञान, पर्वतीय पूर्वाधार, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, जलस्रोत, खनिज तथा ऊर्जा स्रोत, डिजिटल भूविज्ञान, रिमोट सेन्सिङ, नीति तथा पेशागत अभ्यासलगायत विषयमा वैज्ञानिक छलफल गरिएको थियो।
समाजका अनुसार सम्मेलनमा रसुवाको विपद् तथा बहुप्रकोपीय जोखिमलगायत विषयमा केन्द्रित रहेर अध्ययन तथा अनुसन्धानका प्रस्तुति गरिएको थियो। हिमाली क्षेत्रमा देखिने प्राकृतिक विपद्का जोखिम पहिचान, वैज्ञानिक अध्ययन तथा न्यूनीकरणका उपायबारे समेत विचार आदानप्रदान भएको थियो।
‘उत्थानशील, दिगो तथा स्रोत–सुरक्षित विश्वका लागि हिमालयन भूविज्ञानको उन्नयन’ भन्ने विषयवस्तुमा केन्द्रित सम्मेलनले वैज्ञानिक अनुसन्धान र त्यसबाट प्राप्त तथ्यलाई प्राकृतिक स्रोत व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणमा उपयोग गर्नुपर्नेमा जोड दिएको समाजका महासचिव शिवकुमार बाँस्कोटाले बताउनुभयो।
उहाँका अनुसार सम्मेलनमा सातवटा मुख्य वक्तव्य, १३ वटा आमन्त्रित प्रस्तुति, ७६ वटा अनुसन्धानात्मक कार्यपत्र र ५८ वटा पोस्टर प्रस्तुति समावेश गरिएका थिए।
सम्मेलनमा सहभागी भूवैज्ञानिक तथा अनुसन्धानकर्ताले बहुविषयगत अनुसन्धानलाई प्रोत्साहन गर्न, वैज्ञानिक तथ्याङ्कको गुणस्तर सुधार गर्न, आधुनिक अनुगमन प्रविधिको प्रयोग बढाउन तथा विपद् जोखिम न्यूनीकरण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
सम्मेलनले हिमालयन तथा पर्वतीय भूविज्ञानको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न र अनुसन्धानसँग सम्बन्धित शैक्षिक संस्था, सरकारी निकाय तथा वैज्ञानिक समुदायबीच समन्वय र सहकार्य बढाउनसमेत सुझाव दिएको छ।


67 पटक हेरिएको 

