चर्पी नहुँदा झण्डै गुम्यो, श्रीमती

सिरहा १७ फागुन । ‘मनले खाको भाग्यले जुराको केटी त पाएँ तर घरमा चर्पी थिएन, विहे गरेर ल्याएको भोलिपल्टै श्रीमतीले चर्पी नभए घर नबस्ने बताएपछि मेरो मनमा जुक्ति आयो, कानको सुन बेचेर चर्पी बनाउने’ आफ्नो घर नजिकै भएको चर्पी देखाउदै सिरहाको इनर्वा ४ महेशबारीका दिलीप मल्लिकले भन्नुभयो ‘यो चर्पी मेरो कानको मुन्द्रा बेचेर बनाएको हुँ ।’


चर्पी नहुँदा पहिलोपल्ट आफ्नै श्रीमतीसँग लजाउनुपरेको घटना सुनाउदै दिलीपले भन्नुभयो ‘ नयाँ दुलहीले दिसा गर्न कहाँ जाने भनेर सोधे, म अक्क न बक्क भएँ, त्यस्तो अवस्था आउला भन्ने जानेको भए चर्पी बनाएर मात्र केटी भित्र्याइन्थ्यो, हुन पनि त्यो बेला धनीमानीको घरमा मात्र चर्पी हुन्थे’ सबैले पोखरीको किनार, बाटो आसपास र खेतको आलीमै काम चलाउदै आएका थिए ।’

सात बर्ष अघि छिमेकी जिल्ला सुनसरीबाट विहे गरेर ल्याएकी बुटुङदेवी मल्लिकले चर्पी नबनाए बैवाहिक सम्बन्ध तोडिने बताएपछि दिलीपले कानको एकातिरको मुन्द्रा बेचेर भएपनि चर्पी बनाउने निधो गर्नुभएको थियो । श्रीमतीसँग बचन दिएको हप्ता दिनमै उहाँले दुई आना बराबरको कानको एकातिरको मुन्द्रा बेचेर प्यान सेट किन्नुभयो र गाउँमै पाइने बाँस, ढुङ्गा र भकारीको सहायताले चर्पी ठड्याउनुभयो ।

दिलीपको एउटा कान अहिले पनि बुच्चै छ । तर कानको मुन्द्राको साटो चर्पी छ । त्यसबेला मुन्द्रा बेचेर बनाएको चर्पीले दिलीपलाई सम्मान र इज्जत मिलेको छ । सात बर्ष अघि चर्पी बनाउने अभियान नभएपनि अहिले चलिरहेको सरसफाई अभियानमा दिलीप उदाहरणीय पात्र बन्नुभएको छ । दिलीप भन्नुहुन्छ ‘म मेरी श्रीमतीलाई धन्यबाद दिईरहेको हुन्छु, यहाँ जग्गा किन्न र ठूला ठूला घर बनाउन पैसा हुनेहरुसँग चर्पी बनाउने पैसा छैन रे ! त्यस्तो बेला मलाई उदाहरणको रुपमा प्रस्तुत गर्नुहुन्छ सरहरुले ।’

१ हजार ९ सय ८६ घर रहेको सिराहको इनार्वामा ५ सय २२ घरले मात्र चर्पी बनाएका छन् । बाँकी १ हजार ४ सय ६४ घरमा अझै चर्पी बनाउन बाँकी छ । इनार्वामा युनिसेफको आर्थिक सहयोगमा आईडिई नेपालले सरसफाई कार्यक्रम सञ्चालन गरिरहेको छ ।
चर्पीमा लगानी फाइदै फाइदा
कानको सुन बेचेर चर्पी बनाउनुभएका दिलीप अहिले पनि अनुमान लगाउनुुहुन्छ ‘चर्पी नबनाए माइत फर्कन्छु भनेर श्रीमतीले नभनेको भए मेरो घरमा अहिले पनि चर्पी हुने थिएन होला ।

मलाई पनि अरुलाई जस्तै चर्पी बनाओ भनेर भनिरहनुपथ्र्यो ।’ समयमै चर्पी बनाएपछि टोलभरिकै प्रशंसाको पात्र बनेका दिलीपलाई चर्पी बनाएपछि फाइदै फाइदा भएको छ । ‘शौचालय नबनाएको भए मेरा यी लालाबाला बाँच्थ्यो या मथ्र्यो थाहा थिएन’ घरको आँगनमा खेलिरहेका बच्चालाई सुम्सुम्याउदै दिलीपले भन्नुभयो ‘यो सँगैका बच्चाहरुले प्राण त्याग्नु प¥यो, झाडापाखाला लागेर उनीहरु १ बर्ष पूरा नहुदै विते ।’

उहाँका अनुसार इनर्वाको महेशबारीमा अहिले पनि सबैको घरमा चर्पी छैन । चर्पी नभएका घरका परिवार अहिले पनि रोग लाग्यो कि ऋण सापटी गरेर अस्पताल जान्छन् । तर दिलीपको परिवारलाई त्यसो गर्नु परेको छैन ।

आफ्नो नाममा एक धुर जग्गा समेत नभएको बताउने दिलीप मल्लिक घर जस्तोसुकै भएपनि एउटा चर्पी अनिवार्य हुनुपर्ने बताउनुहुन्छ । दिलीप घरको कामबाट फुर्सद निकालेर अहिले पनि समाजमा चर्पी बनाउने काममा क्रियाशील हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार