काठमाडौं २१ फागुन । वाग्मती नदीको शङ्खमूलसम्मको क्षेत्रलाई नुहाउन योग्य घोषणा गरिने भएको छ । बागमतीलाई ढलमुक्त बनाई नुहाउनयोग्य भैसकेकाले आगामी हप्ताको वाग्मती सफाइ महाअभियानमा शङ्खमूलसम्मको क्षेत्रलाई ढलमुक्त र नुहाउन योग्य घोषणा गर्न लागेको हो । आगामी हप्ता वाग्मती सफाइको २०० औं हप्ता भव्य रुपमा मनाउने तयारी गरेको छ ।
बागमती सफाइ महाअभियानको २०० औँ हप्ताको तयारीका लागि मुख्य सचिव सोमलाल सुवेदीको संयोजकत्वमा सरकारका सचिव र बागमती सफाइ महाअभियानका अभियन्ता सहभागी रहेको समिति गठन गरिएको छ ।
यही फागुन २८ गते शनिबार सफाइको २०० औँ हप्तामा गरिने विशेष कार्यक्रममा प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख लगायत सबै प्रमुख दलका शीर्ष नेताको सहभागिता हुने महाअभियानले जनाएको छ ।
उपत्यकाका नदीबाट ३२ मेट्रिक टन फोहोर व्यवस्थापन
वाग्मती सरसफाइ महाअभियानले काठमाडौं उपत्यकाका प्रमुख नदी सफाइ गरी ३२ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९९ औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरदेखि मनोहरा नदी दोभानसम्म सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्र्मी उमेश बोहराले जानकारी दिनुभयो ।
यस्तै रुद्रमती सफाइको १५८ औँ हप्तामा आज देवीनगर पुलदेखि बिजुलीबजार पुलसम्मको क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले जानकारी दिनुभयो । सफाइमा
विष्णुमती सफाइको १३१ औँ हप्तामा आज तारकेश्वर र टोखा नगरपालिकाको सीमास्थित मनोहर तीर्थमा सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्र्मी अनिल धरेलले बताउनुभयो ।
यसैगरी गुह्येश्वरी माथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् । वि.सं. २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान शुरुवात भएको थियो । बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदीको पनि सफाइ गर्न थालेका छन् ।