इलाम २७ फागुन । इलामको नयाँबजार गा.वि.स. वडा नंं १ का दुर्गा भट्टराई र वडा नंं ५ का भानु थामीले पाँच–पाँच रोपनी जग्गा दान गर्नु भएको छ । नयाँ बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट बनाउन भट्टराई र थामीले जग्गा दान गर्नुभएको हो ।
गत मंसिरमै जग्गा दान गरेको घोषणा गरेपनि अहिले गाविसको नाममा नामसरी हुने प्रक्रियामा रहेको गाविस सचिव तथा गाविस स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति भीवाससीसीका अध्यष गोकुल सञ्जेलले बताउनुभयो ।
‘गाउँ परिषद भएको बेला फोहोर व्यवस्थापनको कुरा चल्यो, डम्पिङ साइटका लागि जग्गा चाहिने भनेपछि हामीले दुवै जनाले जग्गा दिने सहमति जनायौं’ जग्गादाता मध्येका भानु थामीले भन्नुभयो ।
गाविसको नाममा जग्गा नामसरी भएपछि वातावरणीय प्रभाव मूल्याङ्कन गरिने र आवश्यक पूर्वाधारको विकास गर्दै लगिने गाविस सचिव सञ्जेलले बताउनुभयो । ‘फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सम्भार र फोहोरको ढुवानी लगायत पहिलो प्राथमिकतामा राखिनेछ, त्यसपछि फोहोर व्यवस्थापनको काम शुरु गरिनेछ’ उहाँले भन्नुभयो ।