काठमाडौ २ चैत्र । विश्व पानी दिवस र विश्व मौसम दिवसको उपलक्ष्यमा चैत्र ४ देखि १० गतेसम्म सप्ताहब्यापी कार्यक्रमको आयोजना गरी राष्ट्रिय जल तथा मौसम सप्ताह २०७३ मनाउने भएको छ ।
फोहोर पानीको पूनर्प्र्रयोग र सरसफाइ, नदी तथा जलाधारको साथै मौसम सम्बन्धी चेतनामुलक कार्यक्रम र अध्ययन, अनुसन्धानका परिणामबारे छलफल तथा गोष्ठीको आयोजना गरी सप्ताहव्यापी कार्यक्रम गरिने राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समितिले जनाएको छ ।
जलवायु परिवर्तनका कारण पानीका स्रोतहरु घट्दै गइरहेको र विषम मौसमी घटनाहरुमा आएको वृद्धिले जनसाधारणको जीविकामा नै संकट आएकाले स्वच्छ पानीको महत्वबारे जनचेतना फैलाउने, पानीको स्रोत र दिगो ब्यवस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माण तहसम्म ध्यानाकर्षण गराउने र फोहोर पानीको प्रशोधन र पूनः प्रयोगको महत्वबारे जोड दिलाउने उद्देश्यले दिवस मनाउन लागेको हो ।
सप्ताहब्यापी कार्यक्रमको लागि जल तथा उर्जा आयोगको सचिवालयका सचिव मधुसुधन अधिकारीको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ । समितिमा सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि सदस्य छन् ।
UN -water ले यस वर्ष विश्व पानी दिवस –२०१७ लाई wastewater नारा दिएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समितिले भने ‘फोहोर पानीको पुनप्र्रयोग’ भन्ने नारा दिएको छ ।
मार्च २२ तारिखको दिन विश्वभर मनाईने विश्व पानी दिवस र मार्च २३ का दिन मनाईने विश्व मौसम दिवसको सन्दर्भ पारेर नेपालमा राष्ट्रिय जल तथा मौसम सप्ताह राष्ट्रब्यापी रुपमा मनाउन लागिएको हो ।