काभ्रेपलाञ्चोक ११ चैत्र । काठमाडौको बल्खु तरकारी बजारबाट निस्कने फोहोरलाई काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला ५ सेरामा लगेर प्रांगारिक मल बनाउने गरिएको छ । कुहिएका तरकारीको बोक्रा, फलफूल, केराको बोक्रा लगायत जैविक फोहोरलाई अरु मलसँग मिसाएर प्रांगारिक मल बनाइन्छ ।
नेपाल इन्टिग्रेटेड मोडल एग्रो फर्म नामक मल कारखानाले जैबिक फोहोरलाई गाइभैसी तथा घोडाको गोबर, कुखुराको सुली र अरु जैबिक मिश्रणबाट मल तयार पार्दै आएको छ । यसका लागि मल कारखानाले बंगुर तथा गाइपालन पनि गर्दै आएको छ ।
हेर्नुहोस् यो भिडियो :
मल बनाइरहेका मध्येका एक लोक बहादुर लामाका अनुसार बल्खुबाट फोहोरलाई कारखानामा ल्याएपछि सबैभन्दा पहिले जैविक तथा अजैविक फोहोर छुट्याइन्छ । त्यसमा जल्ने फोहोरलाई जलाइन्छ भने ठोस अजैविक फोहोरलाई छुट्याएर राखिन्छ । कुहिने जत्ति फोहोरलाई डोजरको सहायताबाट ओल्टाईपल्टाई गरी कुहाइन्छ ।
यस्तो फोहोरलाई कुहाउन मात्र झण्डै ६ महिना समय लाग्छ । जैविक फोहोरलाई कुहाएपछि घोडा, गाइबस्तुको गोबर, कुखुराको सुली लगायतको मात्रा मिलाएर मेसिनमा घोलिन्छ र माटो जस्तै मलको तयार हुन्छ ।
सरकारको करोड बढी अनुदान
नेपाल इन्टिग्रेटेड मोडल एग्रो फर्म नामक मल कारखाना स्थापनाका लागि सरकारले १ करोड १४ लाख रुपैयाँ अनुदान दिएको छ । नेपाल सरकार माटो व्यवस्थापन निर्देशनालयबाट मेसिनरी सामग्री खरिदका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।
कारखाना स्थापनाका लागि मेसिनरी सामग्री किन्नका लागि २ करोड २८ लाख खर्च भएको र त्यसमा सरकारले ५० प्रतिशत अनुदान र ५० प्रतिशत स्वलगानी गरेको कम्पनीले जनाएको छ ।