नुवाकोट १४ वैशाख । नुवाकोटको विदुर नगरपालिका भित्र उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । नगरभित्र थुप्रने फोहोरको सङ्कलन, ओसारपसार र समुचित व्यवस्थापन गर्ने जिम्मेवारी एक्सन वेस्ट प्रालिले लिएको हो ।
बोलपत्र आह्वानमा प्रतिस्पर्धा मार्फत छनोट भएको एक्सन वेस्टलाई तोकिएको शुल्क लिएर व्यवस्थापन गर्ने जिम्मेवारी प्रदान गरेको विदुर नगरपालिकाका कार्यकारी अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । नगरक्षेत्रको फोहोर व्यवस्थापनको लागि एक्सन वेस्टले नगरपालिकासँग पाँच वर्षको सम्झौता गरेको छ ।
यसअघि विदुर नगरपालिकाको कार्यालयले फोहोर सङ्कलन गरी विसर्जन गर्दै आएको थियो । नगरपालिकाको काम प्रभावकारी नभएपछि पछि नगर परिषद्मार्फत निजी क्षेत्रलाई दिने निर्णय गरिएको हो । विदुर नगरपालिका क्षेत्रबाट दैनिक १५ टन फोहर सङ्कलन हुने गरेको छ ।
नगरपालिकाले एक्सन वेस्टलाई प्रत्येक वर्ष नौ लाख ४० हजार दिने सहमति पत्रमा हस्ताक्षर भएको छ । संस्थालाई नगरभित्र आवासीय घर, होटल, व्यवसाय, उद्योग, संस्था, कार्यालय, फार्म लगायतबाट उत्पन्न हुने फोहोर सङ्कलनका लागि सदस्य बनाएर तोकिएको शुल्क उठाउने अधिकार दिइएको छ ।
निजी क्षेत्रले फोहोर व्यवस्थापनको जिम्मेवारी पाएसँगै प्रत्येक बिहान फोहर सङ्कलन गर्नुपर्ने र नगर क्षेत्रमा तोकिएको स्थानमा मात्र फोहोर जम्मा गर्नुपर्ने संहिता जारी गरिएको छ । यस्तै सार्वजनिक स्थलमा सरसफाइ, सदस्यबाट फोहोरमैला शुल्क सङ्कलन र सङ्कलित फोहोरबाट ऊर्जा उत्पादनको समेत प्रयास सुरु भएको छ ।