काठमाडौ १६ वैशाख । काठमाडौ उपत्यकाका सात ठाउँमा एकैसाथ सरसफाइ गरी ४० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । वाग्मती सरसफाइ महाअभियानबाट १२ मेट्रिक टन, चक्रपथ सफाइबाट २२ मेट्रिक टन, विष्णुमती सफाइबाट १२ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको वाग्मती सरसफाइ महाअभियानकी अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार रुद्रमती र तिलगंगा आसपासको सफाइबाट १/१ मेट्रिक टन र पूडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले गरेको सफाइबाट १/१ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । ती सबै सफाइ अभियानमा गरी २ हजार २ सय ८० जनाले सहभागिता जनाएका थिए ।
अहिलेसम्म ७ लाख २१ हजार ९ सय ३० जनाको सहभागिता
काठमाडौ उपत्यका भित्रको नदीनाला सफाइमा अहिलेसम्म ७ लाख २१ हजार ९ सय ३० जनाले सहभागिता जनाएका छन् । सफाइ अभियन्ता माला खरेलका अनुसार चक्रपथ सफाइ तेस्रो हप्तामा प्रवेश गरेको छ ।
यस्तै तिलगंगा ११५ औं हप्तामा, विष्णुमती १३८ औं, रुद्रमति १६६ औं हप्तामा, पूडासैनी मैत्री समाज र राम्रो जोरपाटी, हाम्रो जोरपाटी १६८ औं हप्तामा र वाग्मती सफाइ महाअभियान २ सय ७ औं हप्तामा प्रवेश गरेको छ ।
वाग्मती सरसफाइ महाअभियानबाट अभिप्रेरित भई देशका अन्य ठाउँमा समेत नदीनाला तथा शहर सफाइको क्रम चलिरहेको छ । सफाइ अभियान अन्तर्गत पोखरा र झापाले आज ४८ औं हप्ताको सरसफाइ पूरा गरेका छन् भने दाङको तुलसीपुरमा पनि सफाइ भएको छ ।