कालिकोट : कालिकोटको तिलागुफा नगरपालिका – ४ (साबिक राँचुली गाविसको वडा नं. २, ३ र ४) लाई पूर्ण सरसफाइ नमुना वडा घोषणा गरिएकोे छ । पूर्ण सरसफाइका ५ + १ का सुचक पूरा भएपछि वडा नं. ४ लाई पूर्ण सरसफाइ वडा घोषणा गरिएको हो ।
१ सय ८३ घरधुरी रहेको वडा नं. ४ मा १ सय ८३ वटा धारा जडान गरिएका छन् । वडाको सबै घरमा पक्की शौचालय, भाँडा सुकाउने चाङ, फोहोर फाल्ने खाडल, जुठेल्नो सुधार, साबुन पानीले हात धुने ठाउँको व्यवस्था र पानीलाई शुद्धीकरण गरी पिउनका लागि फिल्टरको समेत व्यबस्था गरिएको छ ।
सरसफाइ सम्बन्धी नारा जुलुस सहित गाउँ परिक्रमा गरी कालिका मावि राँचुलीको प्राङ्गणमा भएको बृहत सभामा पूर्ण सरसफाइका ५ + १ का सुचकलाई निरन्तरता दिन बडाबासीले कुलदेवतालाई साक्षी राखी, हातमा हात जोडेर सामुहिक प्रतिवद्धता जाहेर गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुले पूर्ण सरसफाइको निरन्तरताको शुभ कामना ब्यक्त गरेका थिए ।
जलश्रोत ब्यवस्थापन कार्यक्रम (WARM-P) हेल्भेटास स्वीस ईन्टर कोअपरेशन नेपालको आर्थिक सहयोगमा साझेदार संस्था मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक, नेपाल) कालिकोटको सहजिकरणमा राँचुलीलाई पूर्ण सरसफाइ वडा घोषणा गरिएको हुरेन्डेक नेपालका कार्यवाहक अध्यक्ष बीरेन्द्र बहादुर बुढा (क्षेत्री) ले जानकारी दिनुभयो ।
दुर्गाप्रसाद काफ्ले