दाजुभाइ छुटिंदा खानेपानीको धारा अंश

दैलेख : एउटै परिवारमा बस्दै आएका दाजुभाइ छुटिंदा खेतबारी, पशुचौपाया र अरु भौतिक सम्पक्ति बराबर अंश लगाएको त सुनेकै हो, तर दैलेखको जुगढ गाउँमा दाजुभाइ छुटिंदा खानेपानीको धारामा पनि अंश लाग्ने गरेको छ ।

परिवारमा भएको धारालाई बराबर भाग नलगाएपनि दाजुभाइ छुटिएर धारा जडान गर्दा लाग्ने रकम सबै भाइले बराबर व्यहोर्ने गरिएको छ ।

२०६८ सालसम्म सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका जुगढका बासिन्दाले २०६९ सालमा धौलाकोट खानेपानी योजना मार्फत घरघरै धारा पु-याए । ६६ घर रहेको जुगढमा सामूहिक प्रयासबाट घरघरै धारा जडान गरेपछि अहिले आफूखुसी धारा थप्न पाइदैन ।

दाजुभाइ छुटिंदा पनि धाराको आवश्यकता पर्ने भएपछि दाजुभाइ मिलेरै लागत रकम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई तिरेर धारा जडान गरिदिने गरेको छ । धौलाकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव सूर्य बहादुर शाही भन्नुहुन्छ ‘शहरबजारमा जस्तो आफैले घर बनाउने, पानीको धारा तथा विजुली जडान गर्ने जस्तो गाउँमा नहुने रहेछ, यहाँ त खानेपानीको धारामा लाग्ने रकम समेत सबै दाजुभाइले समान रुपमा व्यहोर्नुपर्छ ।’

निजी धारा बनेपछि पानीका कारण हुने झगडाको अन्त्य 

निजी धारा निजी सम्पक्ति हुने भएकाले यसको हिफाजत हुने गरेको सचिव शाहीको अनुभव छ । जतन गरे आफ्नै सम्पक्तिको रक्षा हुने र जतन नगरे नष्ट हुने भएकाले नीजि धाराको जतन गर्न थालेको उहाँले बताउनुभयो ।

‘२०६६ सालमा जिल्ला विकास समितिको अनुदानमा साँइ खोलाबाट पानी ल्याएकै हो, तर त्यो पानी चार बर्ष पनि मुश्किलले टिक्यो । लाइनमा बस्नुपर्ने, पानी थप्ने विषयमै विवाद हुने, रीस पोखाउन त्यही खानेपानीको पाइप काट्ने, धारा भत्काउने गरेपछि अन्त्यमा भताभुङग भयो’ त्यो बेलाको दिन सम्झिदै सचिव शाही भन्नुहुन्छ ‘अहिले हेर्नुस् पाँच बर्ष भइसक्यो नीजि धारा जडान भएको, हामीले आफ्नो धारा विग्रिएमा आफैले मर्मत गर्नुपर्ने, टुटी विग्रेमा, पाइप टुटफुट भएमा आफैले पाइप किन्नुपर्ने र मर्मत गर्नुपर्ने नियम बनाएका छौं । यसले गर्दा यो आफ्नै सम्पक्ति हो विग्रेमा पैसा जान्छ, श्रम पनि जान्छ भनेर संरक्षण गरिरहेका छन्’

व्यक्तिगत धारामा अरुको सरोकार नहुने भएकाले आफ्नो धारा जसरी पनि संरक्षण गरेर दीगो बनाउनुपर्छ भन्ने भावना हरेक घरधुरीमा जागेको जुगाढकी समला विक बताउनुहुन्छ । ‘निजी धारा भएपछि अरुको घरको धारामा पानी भर्न जाने कुरा पनि भएन, किनकि सबैको धारामा एकैपटक पानी आउँछ ।’

आफ्नै धारामा व्यस्त भएपछि पानीको कारण झगडा गर्ने, मनमुटाव हुने अवस्थाको पनि अन्त्य भएको छ ।

पानीको दीगोपनाका लागि खानेपानी उपभोक्ता समितिले नियम पनि बनाएको छ । समितिका अनुसार हरेक घरधुरीले पानी उपभोग गरे बापत मासिक ८० रुपैयाँ बुझाउँछन् ।

‘खानेपानी उपभोक्ताबाट संकलन भएकै रकमबाट मासिक पाँच सय रुपैयाँ कार्यालय भाडा तिर्छौ र ४ हजार रुपैयाँ खानेपानी मर्मत सम्भार कार्यकर्ताको पारिश्रमिकका लागि खर्च हुन्छ । त्यसपछि बचेको रकम हामीले मर्मत सम्भार कोषमा जम्मा गर्छौ ।

कोषमा जम्मा भएको रकमबाट खानेपानी विग्रिएमा भत्किएमा खर्च गर्ने हाम्रो योजना छ । यसले भैपरी आउने समस्यालाई हल गर्न सघाउ पुग्छ’ उपभोक्ता समितिका सचिव शाही भन्नुहुन्छ ‘जत्तिबेला बिग्रन्छ त्यत्तिबेला उपभोक्ता सँग संकलन गरेर बनाउँला भनेर बस्यो भने त्यत्तिबेला सबै उपभोक्तासँग पैसा नहुन पनि सक्छ नि ? पहिले नै कोषमा रकम जम्मा गरिराखेमा आकस्मिक खर्च गर्न पनि सजिलो हुन्छ ।

यसरी यो पानीलाई पुस्तौं पुस्तासम्म कसरी उपभोग गर्न सकिन्छ भनेर सोचिरहेका छौं’उहाँले भन्नुभयो ।

जिल्ला विकास समितिको अनुदानमा २०६६ सालमा निर्मित साँइ खोला खानेपानी योजना २०१८ सालमै भत्किएपछि २०६९ सालमा हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा जुगढमा खानेपानी योजना निर्माण भएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार