खानेपानीको बन्दोबस्तले महिला सशक्तिकरणमा सघाउ

रसुवा : खानेपानीको अभाव हुँदा पुरुषको तुलनामा महिलाले बढी दुःख पाउँछन् । सरसफाइको काम, खाना पकाउने तथा घरभित्रको काम महिलाले नै गर्नुपर्ने सामाजिक संरचनाले पनि पानीसँग महिलाको संलग्नता बढाएको पाइन्छ ।  त्यही  पानी सहजै उपलब्ध भएमा महिला सशक्तिकरणमा सघाउ पुग्ने विभिन्न तथ्यले पुष्टि गरेको छ ।

  • रसुवाको कालिका गाउँपालिका ४ धुसेनीकी सानु माया तामाङ अहिले बैंठक, तालिम लगायत अरु सामाजिक काममा सहभागी हुन थाल्नुभएको छ । घर आँगनमै पानीको व्यवस्था भएपछि बैठक तथा तालिममा सहभागी हुन पाउनुभएको हो । पहिले पानीको समस्या हुँदा उहाँको विहान भरिको समय पानी ओसार्दैमा ठिक्क हुन्थ्यो ।
  • हरियो तरकारी किनेकै भरमा छाक टार्दै आएका धुसेनीका महिलाको करेसाबारी अहिले तरकारीले भरिभराउ छ । तरकारी किन्ने पैसा नभएर छटपटाउनु पर्ने दिन अब सदाको लागि अन्त्य भएको छ । पानी उपलब्ध भएपछि कुन तरकारी खाने ? रोजी रोजी पकाउन पाएकोमा धुसेनीकी शान्ता तामाङ दंग हुनुहुन्छ । 
  • दुषित पानीको सेवनले गाउँभरिका मानिस थला पर्थे, साना केटाकेटीलाई झाडापखलाले सताउँदा आमाले भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडाको लेखाजोखा गरिसाध्य छैन । अहिले सुरक्षित पानी उपलब्ध हुन थालेपछि गाउँमा झाडापखलाले विरामी पर्न पनि छाडेको छ । केटाकेटी विरामी नभएपछि आमाले पीडा पनि सहनुपरेको छैन ।

खानेपानीले महिला सशक्तिकरणमा पु-याएको केही उदाहरण मात्र हुन् । यस्ता धेरै उदाहरणहरु छन् जसले खानेपानीको जोहो गर्दा व्यतित गरेको समय र बोझ अरु काममा लगाएर आयआर्जन देखि क्षमता अभिवृद्धिमा लगाएका छन् ।

त्यसो त धुसेनीमा एसिएफको आर्थिक तथा प्राविधिक सहयोगमा लाङटाङ संरक्षण सरोकार समाज (ल्याकोस) ले खानेपानी आयोजना निर्माण गरे पनि अधिकांश महिलाको भूमिका अहम् छ । गाउँका सबैजसो पुरुष विदेशमा गएपनि गिद्देखोला खानेपानी आयोजनाको कुलो खन्ने, ढुंगा तथा सिमेन्टको काम सबै महिलाले नै गरेका हुन् ।

आपतविपदमा गरेको कामले अहिले महिलाको सीप र क्षमतामा बृद्धि भएको धुसेनीकी सुस्मा तामाङले बताउनुभयो । ‘हामीलाई कति गहिराई खन्नुपर्छ ? मसला भनेको के हो ? बालुवा, गिट्टी र सिमेन्टको मात्रा कसरी मिलाउनुपर्छ भन्ने थाहा थिएन, अहिले सबै जानेका छौं, अब आइपर्दा हामीले नै गर्न सक्ने भएका छौं ।’

अहिले धुसेनीको चौतीसैं घरमा धारा निर्माण भएको छ । सार्वजनिक धारामा पानी लिन जाँदा पानी भर्ने निहुँमै कतिपय महिलाको विवाद हुने र बोलचाल बन्द हुने समेत हुन्थ्यो । घरघरमै पानी उपलब्ध भएपछि अहिले समाज एक ढिक्का भएको छ । सुस्मा तामाङ भन्नुहुन्छ ‘पानीकै कारण महिला दिदीबहिनी बीच फाटो आउँदा समाजको प्रगतिमा बाधा पुग्ने रहेछ नि ? महिलालाई यसले कसरी फाइदा पु-याउँछ र ? तर अहिले पानीले गर्दा हामी सबैमा मेलमिलाप छ ।

‘खानेपानी अभावमा बालबालिकाको पढाइ प्रभावित हुन्थ्यो, पानी बोक्दा बोक्दा महिलामा आङ खस्ने समस्या हुन्थ्यो, महिला खानेपानीमै अल्झिरहेपछि महिलाको विकास कसरी हुन्छ र ? अब हामी पनि बैठक, सभा समारोह, तालिममा भाग लिन पाएका छौं, अब चाहिं पुरुष सरह हाम्रो पनि विकास हुँदै जान्छ कि ?’ धुसेनी सानुमाया तामाङले भन्नुभयो ।

धुसेनीमा एसिएफ र लाङटाङ संरक्षण सरोकार समाज (ल्याकोस) ले महिला लक्षित सरसफाइ तथा आयआर्जन सँग सम्बन्धित सीपमूलक तालिम पनि सञ्चालन हुन थालेका छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार