धान थन्क्याउन आएकाहरु मलमुत्र थन्क्याउने ठाउँ बनाउँदै

रेजिना गौतम, महाभारा, झापा

आफ्नो जग्गा जमिन थातथलो केही छैन, छ त खाली श्रमको नाता छ । त्यही श्रमका लागि भारतीय भूमिबाट बर्षेनी नेपालमा श्रम पोख्न आउँछन् उनीहरु । तराईमा प्रायः धान गोड्ने प्रचलन हुँदैन । त्यसैले धान रोप्ने र थन्क्याउने समयमा जनको आवश्यकता हुने भएकाले त्यही समय उनीहरु सिमा क्षेत्रमा पर्ने नेपाली भू–भागमा श्रम गर्न आउँछन् ।

त्यस्तै श्रमका लागि दक्षिणी झापाका विभिन्न ठाउँमा भारतीयहरु यतिबेला मजदुरी अर्थात धान थन्क्याउने काम गरिरहेका छन् ।

असोजको मध्यतिर नेपाल छिरेका उनीहरु धान काट्ने थन्क्याउने र दाउनी गरेर र परालको पनि व्यवस्थापन भएपछि झण्डै फागुन अन्तिम तिर आफ्नो भूमि फर्कन्छन् ।

त्यही दैनिकीलाई निरन्तरता दिइरहनुभएको छ, नसाद मिया, फरिद मिया र सान मिया, श्रीमती, काखे बालबच्चा सहित गौरीगञ्ज गाउँपालिका वडा नं. १ होकलबाढी टोलमा ।

खाद्यान्न थन्क्याउन आएका उनीहरु यतिबेला अन्न थन्क्याउने नभई अन्न खाएर उत्पादन हुने मलमुत्र थन्क्याउने ठाउँ (चर्पी) बनाउन व्यस्त छन् ।

 

 

नसादले भने, ‘काम गोर्नु आएको त नि, ट्वाइलेट नबनाई काम गर्नै पाइदैन रे’ । यो बस्तीमा सिजन अनुसार काम गर्न आएकाहरु कंक्रिटयुक्त रिङ र पेनाको प्रयोग गरी पक्की चर्पी निर्माण गरिरहेका छन् ।

धान झार्ने कामलाई थाँती राखेर चर्पी बनाउँदै गरेका फरिद मियाले भने, ‘अब खोला खेतमा जान नपाउँदा त खाना भन्दा पहिले टोेइलेट पो चाहिंदो रहेछ ।’

काम गर्न मजदुर राख्नेहरुले घर बस्न दिने तर चर्पी बनाउन नदिने पम्परागत सोचका कारण झापामा खुल्ला दिसामुक्त अभियान चुनौतीपूर्ण बन्दै गएका बेला होकला बस्तीका जग्गाधनी उदाहारण बनेका छन् ।

काम गर्न आउनेले मान्छे चिने पनि साहुको नाम, थर, ठेगाना चिन्दैनन् । साविक महाभाराको कुनै पनि वडामा अर्काको जमिनमा बस्नेलाई चर्पी बनाउने जग्गाको समस्या नभएको राजभक्त सुनुवारले बताउनुभयो ।

बस्न दिएपछि चर्पी बनाउन पनि जमिन दिनुपर्छ भन्ने मानवताका नाताले जग्गाधनीहरु विश्वस्त भएका छन् ।’ उहाँका अनुसार पित्दा र मधुहस्तालले मानवताका नाताले बस्न दिएका हुप्ना हस्दा र गंगाराम हस्दालाई पनि चर्पी बनाउन जग्गा दिएका छन् ।

साहुको जग्गामा कंक्रिटयुक्त चर्पी निर्माण गरिरहेका सान मियाँले भन्नुभयो ‘पक्की ट्वाइलेट बनाइरहेछ त हामी फर्किदा बोकेर लाँदैन, फेरी आउँदा यसैले भैहाल्छ त ।’

समस्या जसको, जिम्मेवारी उसैलाई

महाभारामा शुरुका दिनमा समस्याका चाङ नभएका होइनन् । खुल्ला दिसामुक्त अभियान अगाडि बढाउँदै लैजाँदा जुन समस्या जसले समाधान गर्नुपर्ने हो, उसैलाई जिम्मेवारी दिंदै जाँदा सहजै समाधान भएको अभियानकर्ताहरु बताउँछन् ।

साविक महाभारालाई खुल्ला दिसामुक्त बनाउने सो क्षेत्रमा सामाजिक अभियानकर्ता, जनप्रतिनिधि लगायत सबैको ध्यान त्यतै खिचिएको छ । अबको केही दिनमा साविक महाभारालाई खुल्ला दिसामुक्त बनाउन सकिने रफ्तारमा अभियान चलाइएको छ ।

सुरुमा कामदारका रुपमा आउने भारतीयको बस्ती भएका ठाउँमा शौचालय निर्माण चुनौती देखेपनि सबै कुरा बुझेपछि सहज भएको सहजकर्ता छत्रकला भण्डारीले बताउनुभयो । ‘चर्पीका लागि जग्गा नदिने समस्या भन्दा पनि बुझाउन नसक्नु चाहिं समस्या रहेछ’ उहाँले भन्नुभयो ‘बाढीबाट विस्थापित बनेर अर्काको जमिनमा बस्ने पनि धेरै छन्, तर, अब महाभारामा त्यो समस्या छैन्, हामीले सबैसँग कुरा गरेका छौं, चर्पी बनाउन पाउँदैन भन्ने कोही जग्गाधनी निस्कनु भा छैन, त्यसैले रफ्तारमा काम अघि बढेको छ ।’

बाढी प्रभावित उक्त बस्तीका प्रायः नेपालीहरुले थातथलो छोडिसकेका छन् । अन्यत्र गएर बाँच्न सक्ने आधार बनाउन नसकेका नगन्य नेपालीहरु मात्र त्यहाँ बसोबास गर्दै आएको वडाध्यक्ष कात्तिकलाल राजवंशीले बताउनुभयो ।

खेतीयोग्य जमिन प्रशस्त भएको सो ठाउँका जग्गाधनीले वर्षेनी भारतीय मजदुरलाई धान खेतीका लागि आउने मजदुर लक्षित फुसको छाना हाली घर (झुपडी) बनाइदिएका छन् ।

अभियान अगाडि बढेपछि मंसिर महिनादेखि चर्पी बनाउने सिमेण्ट रिङको समस्या देखिए पनि विभिन्न निकायबाट रिङ बनाउने फर्मा सहयोग लिएर समस्या समाधान गरिएको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताउनुभयो ।

‘खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र खुल्ला दिसामुक्त अभियान सहजीकरणमा सहयोग गर्ने ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमबाट सगरमाथा सामुदायिक विकास केन्द्रले फर्मा सहयोग गरेपछि टोल टोलमा फर्मा लगेर रिङ बनाउन थालियो” उहाँले भन्नुभयो “त्यसैले, अहिले रिङको समस्या समाधान हुँदै आएको छ ।’

सरसफाइ प्रवद्र्धनमा जुटेपछि विरोध गर्नेहरु मत्थर

त्यसो त सरसफाइलाई गति दिनका लागि अभियान तीव्र भएसँगै निर्वाचित जनप्रतिनिधि विरुद्ध नारा जुलुस र कार्यालयमा तालाबन्दी गर्ने धम्की पनि आए । खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने सहजकर्ताहरु माथि बोल्न नजानेका र मुख छोड्ने गरेको आरोप समेत लाग्यो ।

राजनीतिक विचार र आस्थाका आधारमा विभिन्न बहाना गर्दै विरोधका स्वर सुनिए पनि सिङ्गै समुदाय सरसफाइ प्रवद्र्धनमा जुटेपछि विरोध गर्नेहरु मत्थर भएको महिला सदस्य जानुका गौतम बताउनुहुन्छ  ।

‘अहिले त सरसफाइ सबैको मुखमा झुण्डिएको छ, पहिले समुदायलाई खुल्ला दिसामुक्त गरेर मात्र अरु विकास निर्माणका काम थाल्ने हो’, वडा कार्यकारी सदस्य भीमप्रसाद राजवंशीले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार