हेड सर नै दिसा गर्न झाडीमा, १२६ विद्यार्थी मध्ये १० को घरमा मात्र शौचालय

विनोद धौलागिरि, घेराबारी (झापा)

झापाको घेराबारीमा रहेको बसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ विश्वनाथ यादव । विद्यालयका शिक्षक प्रधानाध्यापक सहित शिक्षकहरु बस्ने कार्यालय कोठाको ढोकामाथि नै लेखिएको छ, ‘सफा सुग्घर विद्यार्थी नै असल विद्यार्थी हो ।’ कार्यालय कोठामामात्र होइन, कक्षा कोठाका भित्ताहरुमा समेत चित्रहरु कोरिएको छ, साना नानीहरुलाई पढ्न सजिलो होस् भनेर कोरिएका पाठ्य सामग्रीका झिना अवशेष बाँकी देखिन्छन् ।

 

 

तर, कार्यालय कोठाभित्र पस्दा त्यो शिक्षकहरु बस्ने कार्यालय कोठा हो भन्ने भान हुँदैन, बरु कुनै अव्यवस्थित डम्पिङ साइटजस्तो देखिन्छ । फोहर, भाँचिएका खेल सामग्री, खाजाका खोल, धुलो, कागजका टुक्रा, च्यातिएका किताव र कापी, भाँचिएका बोर्ड सबै असरल्ल फालिएको छ कोठामा । फलामका टुक्रा, औषधीको बोटल, माटोको एस्ट्रे, बिग्रिएको टर्च लाइट, प्लेट, मग र अन्य प्रयोगविहन भाँडाकुँडा सबै टेबुलमाथि र भुइँमा छन् ।

दुई वटा टेबुललाई कपडाले छोपिएको छ, तर सबै धुलैधुलो छ । बस्ने कुर्सीहरु भाँचिएका छन्, धुलोले भरिएका छन् । “विद्याको मन्दिरमा शिक्षाका पूजारी बस्ने कोठा यतिसम्म फोहर हुन सक्छ भन्ने कल्पनासम्म पनि गर्न सक्तिनँ म”, सरसफाइ मिसनमा विद्यालयमा पुग्नुभएका झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले घेराबारीसमेत रहेको कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमतर्फ लक्षित गर्दै निर्देशनात्मक रुपमा भन्नुभयो,

“अब दुई दिनपछि विद्यालयको सरसफाइको अवस्थाको अनुगमन गर्नुहोस्, अवस्था सुधार नभएमा प्रधानाध्यापकलाई निलम्वनको चिठी थमाइदिनुस्, तलव रोक्का गरिदिनुस् ।”

१२६ विद्यार्थीमध्ये १० को घरमा मात्र शौचालय

समुदायको सरसफाइ प्रवद्र्धनका लागि अनुगमनमा पुगेको टोलीका एक सदस्य जिल्ला समन्वय समितिका सचिव खेमराज ओझा पुग्नुभयो कक्षा २ मा । त्यहाँ रहेका ३८ विद्यार्थीलाई सरसफाइको बारेमा जानकारी दिएपछि ओझाले सोध्नुभयो, “तिमीहरुमध्ये कसको घरमा सुरक्षित शौचालय छ ?” उनीहरुले भाषा केही बुझे र केही बुझेनन्, अनि एक साह छात्राले भनिन्, “दू गोटेके घरमे शौचालय छियै, और कौने गोटेके घरमे शौचालय नहीं छियै ।”

 

विद्यालयकी एक सहायक शिक्षिकाले अधिकांश विद्यार्थीको घरमा शौचालय नभएको बताउनुभयो । “हामीले एक दिन कुन कुन विद्यार्थीको घरमा शौचालय छ भनेर सोधेका थियौं । त्यस दिन उपस्थित भएका १ सय २६ मध्ये १० को घरमा मात्र शौचालय भएको थाहा भयो ।”

जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले आफूहरु जिल्लाबाट सरसफाइको अवस्थाको अनुगमन गर्न आएको बताइरहँदा प्रधानाध्यापक विश्वनाथ यादवमा कुनै ग्लानी देखिएन, बरु उहाँले यसलाई अति सामान्य रुपमा लिनुभयो । “यस्तै त हो नि, कसैले सफा गर्दैन, कसरी सफा हुन्छ त ?”, उहाँले उल्टो प्रतिप्रश्न गर्नुभयो, “जो जहाँबाट जसरी आएको भए पनि यहाँ जे छ, त्यही देख्नुभएको छ ।”

 

विद्यालयको सरसफाइ अवस्थाको अनुगमनपछि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको प्रतिक्रिया छ, “विद्यालय यहाँभन्दा भद्रगोल हुने ठाउँ नै छैन । अहिलेसम्म विद्यालयप्रति न समुदायको अपनत्व देखियो, न त सम्बन्धित तालुकदार कार्यालयहरुले नै राम्ररी अनुगमन गर्न सकेको देखियो ।”

नेपालका धेरै जिल्लाका विद्यालयहरु पुगिसकेकी सञ्चारकर्मी राधा खनाल विद्यालयको कमजोर सरसफाइ देखेर उदेक मान्नुभयो । “विद्यालयप्रति कसैको पनि अपनत्व नै देखिएन”, राधा खनालको भनाइमा समर्थन जनाउँदै अनुगमन टोलीका अर्का सञ्चारकर्मी माधव विद्रोहीले भन्नुभयो, “उथलपुथल नपारीकन न विद्यालयको सरसफाइमा सुधार आउँछ, न त समुदायको सरसफाइमा नै ।”

हेड सर नै दिसा गर्न झाडीमा

विद्यालयका प्रधानाध्यापककै घरमा सुरक्षित चर्पी नभएको र उहाँको सिंगो परिवारले खुल्ला स्थानमा दिसा गर्न जाने सूचनाका आधारमा कचनकवल गाउँपालिकामा सरसफाइ प्रवद्र्धन मिसनमा खटिएको जिल्लाको उच्चस्तरीय टोली बसन्त आधारभूत विद्यालयमा पुगेको थियो । विद्यालयका कुन शिक्षकको घरमा चर्पी छ र कसकोमा छैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानाध्यापक यादवले ठाडो जवाफ दिनुभयो, “मेरोमा छ, अरु कसकोमा छ, कसकोमा छैन, मलाई थाहा भएन ।”

 

सशस्त्र प्रहरी निरीक्षक बी.आर. दाहालले खुल्लामा दिसा गर्नु सामाजिक अपराध भएको र शिक्षकजस्तो सम्मानित पेशामा रहनेले सामाजिक अपराध गर्न नहुने बताउँदा प्रधानाध्यापक यादव जंगिनुभयो, “तपाईले मेरोमा चर्पी छैन भन्न खोज्नुभएको हो ? मेरो चर्पी छ । जसले मेरोमा चर्पी छैन भनेको छ, उसको सेवा सुविधा रोकिदिनुस् ।” यादवको यो प्रतिक्रिया सरसफाइ अभियान सहजकर्ताहरुतर्फ लक्षित थियो ।

विद्यालयका अन्य शिक्षकहरु प्रधानाध्यापकको अगाडि ‘चूँ’सम्म बोल्नुभएन । सरसफाइ अभियानकर्ता श्रवणकुमार गणेशले उहाँको घरमा दिसा गर्ने ठाउँ भए पनि त्यो सुरक्षित चर्पी होइन र त्यहाँ कसैले पनि दिसा गर्दैन भन्दै असुरक्षित चर्पीको फोटो नै आफूसँग भएको बताएपछि प्रधानाध्यापक यादवले भन्नुभयो, “तपाईहरुको भाषामा सुरक्षित असुरक्षित के के होला, मैले जान्दिनँ । तर मेरोमा चर्पी छ ।”

 

सुरुमा आफ्नो घरमा सुरक्षित चर्पी भएको जीकिर गरेका यादवले कुराकानीको अन्तमा आफूहरु त्यस घरमा नबस्ने बताए पनि अन्य शिक्षकहरु र समुदायका अगुवाहरुले भने त्यस कुरा स्वीकार गर्नुभएन । “उहाँ त्यही घरमा बस्नुहुन्छ, खुल्लामा नै दिसा पिसाव गर्नुहुन्छ”, सरसफाइ अभियान सहजकर्ता साहिल मोहम्मद भन्नुहुन्छ, “उहाँको परिवारका सदस्यहरु सडक छेउमा दिसा गर्ने क्रममा हामीले दर्जन पटक सिट्ठी बजाएर धपाएका छौं, तर पनि उहाँहरुले अहिलेसम्म न सुरक्षित चर्पी बनाउनुभएको छ, न त त्यही असुरक्षित चर्पीमा नै दिसा पिसाव गर्न थाल्नुभएको छ ।”

लामो संवाद, वादविवाद र विद्यालयका अन्तरकुन्तरको अवलोकनपछि सरसफाइ प्रवद्र्धन सहयोग टोली यादवको घरमा रहेको शौचालयको अवलोकनका लागि पुग्यो । “दिसा जम्मा हुने खाडल त छ, तर अरु केही पनि व्यवस्थित छैन”, विराट सामुदायिक अध्ययन केन्द्रका खुल्ला दिसामुक्त अभियान संयोजक महेन्द्र कार्की भन्नुहुन्छ, “त्यही अव्यवस्थित चर्पी समेत प्रयोग गरेको देखिएन ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिहरुसहित प्रधानाध्यापक यादवको चर्पी अनुगमनमा पुग्नुभएका अर्का सरसफाइकर्मी किसन गौतम भन्नुहुन्छ, “उहाँकोमात्र होइन, समुदायमा धेरैजनाको चर्पी छैन । खुल्लामा दिसा गर्ने कार्य यहाँ सामाजिक रुपमा समेत स्वीकार्य देखिन्छ ।”

 

कवाडी केन्द्रजस्तै स्टोर कक्ष

अनुगमन टोली विद्यालयका विभिन्न कोठाहरु चाहार्दै स्टोर कक्षमा पुग्यो । त्यहाँको दृष्य झनै दर्दनाक देखियो । “स्टोर कक्ष अव्यवस्थित कवाडी संकलन केन्द्रजस्तै देखियो”, अनुगमन टोलीका सदस्य सञ्चारकर्मी रोहित काफ्ले भन्नुहुन्छ, “रक्सीका बोतलदेखि कोकका बोतलसम्म त्यही स्टोरमा छन् । यदि विद्यालयलाई नम्बर दिनुपर्ने हो भने मैले माइनस नम्बर दिन्थें ।”

 

सरसफाइ अभियानकर्ता उज्वल भण्डारीले आफूहरुको सुझावलाई विद्यालय परिवारले अवलम्वन नगरेको बताउनुहुन्छ । “यो ज्यादै उदेकलाग्दो अवस्था भयो, जिल्लाबाट अनुगमन आयो भने तपाईहरुको अवस्था के हुन्छ भन्दा विद्यालयका प्रधानाध्यापक रिसाउनुभयो, शिक्षकहरु केही बोल्नुभएन”, भण्डारीले भन्नुभयो, “हामीले बनाएर छोडेको शौचालय समेत प्रयोग भएको छैन।”

 

विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ पद्धति नेपालको मौलिक सरसफाइ पद्धति भए पनि यसको बाछिटा बसन्त आधारभूत विद्यालयसम्म पुग्न नसकेको देखिन्छ । झापा जिल्लालाई चैत्र २२ गतेसम्ममा खुल्ला दिसामुक्त अवस्थामा पु¥याउने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको लक्ष्यलाई यस्ता विद्यालयले कसरी टेवा दिन्छन्, हेर्न भने बाँकी नै छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार