बुहारीको मात्र शौचालय

  माधव प्रसाद काफ्ले, प्रहरी निरीक्षक  1768 पटक हेरिएको

कुरा डेढ बर्ष अघिको हो । म त्यत्तिबेला अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासमा कार्यरत थिएँ । एक दिन हाम्रो टोली सर्लाहीको एउटा गाउँमा अनुगमनका लागि पुगेका थियो ।

त्यहाँको एक घरमा मैले शौचालय छ ? भनेर सोधें । ‘शौचालय त छ तर बुहारीको मात्र हो, तपाईले प्रयोग गर्न पाउनुहुन्न’ भन्ने जवाफ पाएँ ।
यस्तो जवाफले मनमा झनै कौतुहलता बढ्यो । मैले सोधें किन ? शौचालय पनि बुहारीको मात्र हुन्छ ?

कुराकानी हुँदै जाँदा पछि थाहा पाएँ । बुहारीको माइती पक्षले शौचालय नभएको घरमा छोरी चेली दिन सक्दैनौं भनेपछि बुहारीका लागि बेग्लै शौचालय बनाइदिने शर्तमा बुहारी ल्याएको रहेछ । शिक्षित घरकी छोरीका लागि मात्र बनाएको शौचालय भएकाले बुहारी बाहेक त्यो शौचालय कसैले प्रयोग गर्न नपाइदो रहेछ । हामीले पनि प्रयोग गर्न पाएनौं ।

बुहारीका लागि शौचालय बनाए पनि घरका अन्य सदस्यका लागि भने शौचालय बनाएको थिएन । घरका अरु सदस्यले भने दिसापिसाब गर्न खुला ठाउँमै गएको सुनाउथे । त्यसपछि मलाई लाग्यो यदि शौचालय नभएको घरको केटासँग बिहे गर्दिन वा शौचालय नभएको घरको केटासँग विहेबारी गराउँदैनौं भनेर सामाजिक नियम बनाएर लागु गरे शौचालय त बन्ने रहेछ नि ? जसरी सर्लाहीमा बुहारीका लागि मात्र भएपनि शौचालय बनाए ।

अहिले म धनुषाको इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत छु । प्रहरीले घर घरै गएर चर्पी बनाउन सहयोग गरेको नहोला तर हामीले पछिल्लो समयमा खुला ठाउँमा दिसा गर्नेहरुलाई पक्राउ गरी चर्पी बनाएर चर्पीमा मात्र दिसापिसाब गर्न सघाइरहेका छौं ।

 

हामीले खुला दिसामुक्त अभियानमा क्रियाशील संघसंस्था तथा नगरपालिकाको आग्रहमा उनीहरुसँगै गएर खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गरी समितिले तोके अनुसारको जरीवाना असुल गराएर छाड्ने गरेका छौं । यस्तो काम हामीले मिथिला नगरपालिका, ढल्केबर, जमुनाबास, एमवाससीसी, भीवाससीसी सँग मिलेर गर्यौं, यसले पनि चर्पी निर्माणको कामले गति लिएको हामीले महसुस गरेका छौं ।

हुन त यो काम अप्रत्यक्ष रुपमा प्रहरीको क्षेत्राधिकारसँग जोडिएको कुरा पनि हुन सक्छ । चर्पी नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न जाँदा कोही बलात्कृत भयो भने वा दुई समूह बीच झैझगडा भयो भने प्रहरी सम्मै आइपुग्ने हो तर कुनै पनि कानुनी नभएकाले हामी आफैले समात्ने, कार्वाही गर्ने काम भने गर्दैनौं ।
बरु सामाजिक संघसंस्थाको आग्रहमा उनीहरुसँगै गएर नियन्त्रणमा लिने र चर्पी बनाउन सम्झाई बुझाई गरेर पठाउने गरेका छौं ।

घरघरमै चर्पी निर्माण गर्न लगाई दिसाजन्य रोगबाट मुक्त रहन हामी सबैले प्रयास गर्नैपर्छ । यो दायित्व हामी सबैको हो । त्यसैले प्रहरीले समुदायसँग मिलेर सामाजिक सुरक्षाको कामको अलावा अरु सामाजिक काम पनि गर्ने भएकाले खुला ठाउँमा दिसा गर्नेहरुलाई नियन्त्रणमा लिनु परेमा वा अरु सामाजिक अभियान सन्चालन गर्नु परेमा पनि समन्वय गर्न सकिनेछ । नागरिक समाज, प्रहरी र अन्य निकाय संगै मिलेर गरेको कामले राम्रो सफलता पनि हासिल गर्दै गएको छ ।

 

प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेसँग गरिएको कुराकानीमा आधारित ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार