सप्तरी : सप्तरीको शम्भुनाथ नगरपालिका २, कनकपट्टी गाउँमा गाडिएका ट्यूबवेलहरु पशु चौपाया बाँध्ने किलोको रुपमा परिणत भइसकेका थिए । भूमिगत पानीको स्रोत सुकेपछि कनकपट्टी र आसपासमा पानीको ठूलै हाहाकार हुन्थ्यो ।
तर कनकपट्टीका लागि ती दिनहरु इतिहास भइसकेका छन् । अहिले कनकपट्टी र आसपासको ट्यूवबेलमा बाह्रै महिना पानी आइरहन्छ ।
चुरे फेदीमा रहेको कनकपट्टि आसपासमा वर्षातको भल संरक्षण गरी पोखरी निर्माण गरेपछि ट्युवेलमा पर्याप्त पानी आउन थालेको हो ।
शुरुमा सिचाईमा टेवा पुर्याउने उदेश्यले बनाएका यस्ता पोखरी अहिले सुकेका ट्यूबवेल जगाउने गतिलो आधार बनेको कनकपट्टिका मो रसुल ले बताउनुभयो ।
जिटिजेडको सहयोगमा २०५२ सालमा सुख्खा याममा सिचाई गर्ने उदेश्यले चुरे क्षेत्रको वर्षाको भल संकलन गरी ३ वटा पोखरी निर्माण गरिएको थियो । अहिले भने सिंचाईका अलावा पिउने पानीका लागि समेत ती पोखरीहरु सहायक सिद्ध भएका छन् । अहिले सुकेका ट्युवेलमा पानी जागेको रसुलले बताउनुभयो ।
‘ट्यूवेलमा पानी आउनका लागि भूमिगत पानी पुनःभरण हुनुपर्दोरहेछ, त्यो कुरा हामीलाई थाहा थिएन, हामीले भलको पानी संरक्षण गरेर पोखरी बनाएपछि जमिन मुनिको पानी पुनःभरण भएर ट्यूबेलमा पानी आउने रहेछ, त्यो कुरा बल्ल थाहा भयो’ रसुलले भन्नुभयो ।
थप संरक्षण पोखरी निर्माण हुँदै
संरक्षण पोखरीले पानीको पुनःभरण गरी खानेपानीको आपूर्तिमा टेवा पुगेपछि संरक्षण पोखरी थप निर्माण हुन थालेका छन् । जिल्ला भु संरक्षण कार्यालय सप्तरीले अहिले उपभोक्ता समिति मार्फत जिल्लाभरि १० वटा पोखरी निर्माण गरिहेको जनाएको छ ।
जिल्ला भु संरक्षण कार्यालयले ९ लाख ९४ हजार ९७१ तथा उपभोक्ता समुहवाट १ लाख २२ हजार गरी १० लाख ८ हजार रुपैयाँको लागतमा पोखरीको निर्माण भईरहेको जिल्ला भु संरक्षण कार्यालयका प्रमुख विष्णु वहादुर भण्डारीले जानकारी दिनुभयो ।
संरक्षण पोखरीले बढायो आम्दानी
संरक्षण पोखरीको पानी सिंचाई गरेर किसानले विभिन्न बालीनाली पनि लगाउन थालेका छन् । पानीको अभावमा बाँझै रहेको जमिनमा कितपयले आँप खेती सुरु गरेका छन् । खुरहुरीया खोला संरक्षण पोखरी उपभोक्ता समितिका अध्यक्ष तेजनारायण चौधरीका अनुसार ,जम्मा भएको पानी सिचाई गरेर किसानले धान, गहुँ, मकै र आँप फलाएका छन् । यसबाट किसानको राम्रै आम्दानी भइरहेको छ ।


1867 पटक हेरिएको 

