जनकपुर : फोहर व्यवस्थापन नहुँदा प्रदेश २ को राजधानी जनकपुर दुर्गन्धित बनेको छ । उपमहानगरपालिकाको फोहरमैला शाखाले सहरका विभिन्न बस्तीबाट थुपारिएको फोहर संकलन गरे पनि व्यवस्थित हुन सकेको छैन ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित जनकपुर सहर घुम्न आउने स्वदेशी तथा विदेशी आगन्तुकको पहिलो नजर फोहर मैलामै पर्ने गरेको छ । अव्यवस्थित फोहर मैलाका कारण पर्यटकीय धार्मिक सहर जनकपुरको पहिचान नै फोहर मैलायुक्त सहरका रूपमा परिचित हुन थालेको छ ।
जनकपुर सहरका बासिन्दा र व्यवसायीले प्लास्टिक, कागजका टुक्रालगायत बजार, पसल, होटल, लज तथा निजी घरबाट उत्सर्जन हुने फोहर अधिकांश सडक किनारा, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन् । ढल प्लास्टिकजन्य फोहोर भरिएका छन्। ढलमा बग्नुपर्ने पानी सडकमा बग्न गरेको छ । वर्षादका बेला घरआँगनमै दुर्गन्धसहितको कालो पानी बग्ने गरेको छ । त्यही पानी बगेर जनकपुरका स्वच्छ र पवित्र मानिएका तालपोखरीमा पुग्छ।
दूषित पानीले तालतलाउ पोखरीमा रहेका माछा मर्ने गरेको जनकपुर मत्स्य विकास केन्द्रले जनाएको छ । फोहरमैलाको दुर्गन्धले सहरको जनस्वास्थ्य नराम्ररी प्रभावित भएको छ । कालो पानी र फोहरको दुर्गन्धले खाना अरुचि हुने, अमन, अपच र आलस्य हुने गरेको स्थानीयवासी बताउँछन् ।
जनकपुर उपमहानगरपालिकाले एसियाली विकास बैंक, सहरी विकास तथा भवन निर्माण विभागलगायत विभिन्न निकायको आर्थिक सहयोगमा एकीकृत सहरी विकास आयोजना अन्तर्गत सहरभित्र सडक विस्तार, ढल निकास, ड्रेन, ह्युमपाइप जडान गरिएको छ। ढलको पानी भूमिगत रूपमा पठाउन ठाउँठाउँमा ड्रेन निर्माण गर्ने योजना छ।
विभिन्न बस्तीमा स्थानीयबासीको विवाद र अवरोधका कारण काम पूरा भएको छैन । जनकपुर उपमहानगरपालिकाले निर्माण व्यवसायी कम्पनीलाई जग्गा खाली नगरिदिएपछि सडक विस्तार र ढल निर्माण आयोजना अधुरै रहेको छ । उपमहानगरपालिकाले ढल निकास र फोहरमैला व्यवस्थापनका लागि डम्पिङसाइट व्यावस्थापन गर्न नसक्दा राजधानी सहर दुर्गन्धित बनेको हो । फोहोर मैला व्यवस्थापनका निम्ति डम्पिङसाइट नहुनु, जनचेतनाको अभाव, स्थानीयवासीको असहयोग मुख्य चुनौतीका रूपमा रहेको उपमहानगरपालिका वडा नं–५ की सचिव जमुना भुजेल बताउँछिन् ।
सार्वजानिक शौचालयको कमी, स्थानीयवासीको जत्तिबेला जहाँ पनि खुला स्थानमा दिसापिसाब गर्ने, जथाभावी फोहोर फाल्ने मानसिकताको कारण सहर दुर्गन्धित छ । राजधानी सहरको जनकचोक, रामचोक, तिरहुतियाचोक, महावीर चोक, तिरहुतियागाछी चोक, जानकीमन्दिर आसपास, देवीचोक, मिल्सएरिया, सोनारपट्टी लगायत उपमहानगरको अधिकांश ठाउँमा फोहोरमैला व्यवस्थित हुन सकेको छैन ।
जनकपुर उपमहानगरपालिकालाई फोहोरमैला व्यवस्थापनका लागि डम्पिङसाइट व्यवस्थापन गर्न एसियाली विकास बैंकले ३५ करोड रुपैयाँ उपलब्ध गराए पनि हालसम्म उपयुक्त स्थान फेला पार्न सकेको छैन । डम्पिङसाइट नहुँदा फोहोरमैला व्यवस्थापन गर्न समस्या भएको जनकपुर उपमहानगरपालिका फोहोरमैला व्यवस्थापन विभागका प्रमुख उपेन्द्र साहले बताए ।
उनका अनुसार हाल कर्मचारीले वडा नं २३ स्थित दुधमती धार, बेगागाउँलगायत खुला ठाउँमा फाल्ने गरेका छन् । फोहोरमैला व्यवस्थापन, कार्यालय र सडक सरसफाइका लागि उपमहानगरपालिकामा ४१ जना स्थायी, १२ जना करार र ५० जना दैनिक ज्यालादारी गरी एक सय ३ जना स्विपर कर्मचारी कार्यरत छन् । फोहोरमैला व्यवस्थापनका लागि उपमहानगरपालिकासित एक ट्रिपर, दुईवटा ट्रयाक्टर र एउटा एस्काभेटर छ भने ४ वटा ट्रयाक्टर र एउटा ट्रिपर भाडामा लिएर काम चलाइरहेको इन्चार्ज साहले बताए ।
यसमध्ये एस्काभेटर र ६ वटा ट्रयाक्टर सडक विस्तारका लागि घर भत्काउने कार्यमा प्रयोग गरिएका छन् । फोहर मैला व्यावस्थापनकै लागि भारत सरकारले विगतमा प्रदान गरेको ९ वटा ट्रिपर, ४ वटा ट्रयाक्टर र ३ वटा स्काभेटर गरी १७ वटा सवारी साधन अधिकांश काम नलाग्ने अवस्थामा छन् ।
जनकपुरमा बाक्लो बस्ती भएकाले लुकेर दिसापिसाप गर्ने ठाउँ छैन । फोहोर फाल्ने डम्पिङसाइट, वन, जङगल नभएकाले बाध्य भएर जहाँ पायो, त्यहीं फाल्ने गर्छन् । फोहोर मैलाले नाक, मुख, आँखा, शिरदेखि पाउसम्म प्रभावित पारेपछि मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने गरेको छ ।
उपमहानगरपालिकाले दैनिक नियमित रुपमा फोहर संकलन गरे पनि सडक किनारा, होटल, लज, धर्मशाला छेउ, विद्युत् पोल, ढल, नालीमा भएको फोहर सरसफाइ नगर्ने भएकाले राजधानी सहर दुर्गन्धित बनेको हो । उपमहानगरपालिका –२३ स्थित फुलगाममा डम्पिङसाइट व्यवस्थापनको लागि एक करोड रुपैयाँ लगानी गरिसकेको छ । तर प्राप्त हुने नहुने अझै टुङ्गो लागिनसकेको कर्मचारीले बताए ।
जनगणना २०६८ अनुसार जनकपुर उपमहानगरपालिकाको २५ वटा वडामा ३० हजार ५ सय ८९ घरपरिवार र एक लाख ६२ हजार २ सय ३२ जनसंख्या छ । यसमध्ये घरवारविहीन अवस्थामा रहेका दलित, उत्पीडित समुदायको छाप्रोमा निजी शौचालय समेत छैन । ऋषिमुनीकालीन सहर जनकपुरलाई आधुनिक सहरको रुपमा विकसित गर्न सामाजिक वातावरणले नकारात्मक प्रभाव परेको जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले बताए ।
जताततै फोहर मैला, खुला शौचालय, डम्पिङसाइट, लामखुट्टे, ध्वनि प्रदूषण, वातावरण प्रदूषणबाट अक्रान्त जनकपुर सहर सरसफाइ, ढल निकास र सहरको व्यवस्थापन गर्न खानेपानी तथा सरसफाइ विभागबाट दुई अर्ब रुपैयाँ बजेट लगानी गर्ने सम्झौता भइसकेको उपमहानगर प्रमुख सहले बताए ।
कान्तिपुर दैनिक बाट ।


1166 पटक हेरिएको 

