काठमाडौ : महिनावारी भएको समयमा बग्ने रगतको व्यवस्थापनका लागि ८३ प्रतिशत किशोरीहरु कपडाको टालो प्रयोग गर्छन् भने १५ प्रतिशतले मात्र स्वस्थकर स्यानिटरी प्याड प्रयोग गर्ने गरिएको अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ ले गरेको अध्ययनबाट ८९ प्रतिशत किशोरीहरुले कुनै न कुनै प्रकारको प्रतिबन्ध वा बहिस्करण भोग्ने गरेको तथ्य भेटिएको छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ ले प्रभावशाली व्यक्तिहरुको विचार, अध्ययन र सहकर्मी जनजातिय अध्ययनबाट महिनावारी सम्बन्धी निम्न तथ्यहरु सार्वजनिक गरेको छ ।
महिनावारी सम्बन्धी तथ्य
पहिलो पटक महिनावारी हुँदा किशोरीहरुले डर, द्धिविधा, चिन्ता, अनुभव गर्ने गरेका छन् भने उनीहरुको सूचनाको पहिलो श्रोतव्यक्ति आफ्नी आमा हुने गरेका छन् ।
२८ प्रतिशत सामुदायिक विद्यालयमा मात्र छात्राहरुको लागि छुट्टै शौचालयको व्यवस्था छ
महिनावारी बहिस्करणले गर्दा किशोरीहरुमा शारीरिक जत्तिकै सामाजिक तथा मनोवैज्ञानिक असर पर्ने गरेको छ ।
महिनावारी भएको अवधिभर किशोरीहरु विद्यालयमा गयल हुने, परिवारका सदस्यहरुबाट अलग बस्नुपर्ने तथा सांस्कृतिक कार्यक्रममा संलग्न हुनबाट समेत वञ्चित हुने गरेका छन् ।
सांस्कृतिक बन्देज बाहेक कतिपय व्यवहारिक व्यवधानले पनि महिनावारी स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको छ । जस्तै : महिनावारीको रक्तश्राव व्यवस्थापनका लागि स्वस्थकर स्यानिटरी प्याड सजिलै उपलब्ध नहुनु, प्याड किन्ने पैसा नहुनु तथा महिनावारी व्यवस्थापनका लागि उचित पूर्वाधार नहुनु ।
महिनावारीको समयमा भोग्नुपर्ने असमान, अन्यायपूर्ण र पक्षपाती व्यवहारले गर्दा किशोरीहरु खुसीका साथ जीवन जिउन र आफ्नो वैयक्तिक वृत्तिविकास गरी समाजमा विकासमा योगदान दिन नसक्नु ।
महिनावारी शुरु हुनुभन्दा अघि किशोरीहरुलाई यसबारे उचित शिक्षा र सही सूचना दिन सकेमा पछि हुन सक्ने भावनात्मक तथा मनोवैज्ञानिक असरलाई कम गर्न सकिन्छ ।
गलत अवधारणा र गलत सूचनाले गर्दा किशोरीहरुको जीवनको अन्य पक्षमा समेत असर पर्ने गरेका छन्, जस्तै : विद्यालयको पठनपाठन, पारिवारिक सम्बन्ध, समाज प्रतिको धारणा र जिम्मेवारी ।
किशोरीहरुले विशेषतः परिवारका महिला सदस्यहरुबाट महिनावारी स्वास्थ्य व्यवस्थापनबारे सूचना तथा शिक्षा पाउने गरेका छन् ।
महिनावारी सँग सम्बन्धित कुरीति र गलत धारणा विशेषतः हिन्दु धर्मावलम्बी परिवारमा व्याप्त छ भने जनजाति परिवारमा महिनावारी अवस्थासँग सम्बन्धित बन्देज र प्रतिबन्ध कम रहेको छ ।
महिनावारी हुँदा बग्ने रगतलाई सबैजसो किशोरीहरुले अपवित्र वा फोहोरको रुपमा लिने गरेका छन् ।
कतिपय किशोरीहरुले रजश्वलालाई उत्सवको रुपमा लिने गरेतापनि पछि भने त्यसलाई प्रतिबन्धित रुपमा व्याख्या गर्ने गरिएको छ ।
महिनावारी स्वास्थ्य व्यवस्थापनका चुनौतीहरु : उचित शिक्षा र सचेतनाको कमी, प्याड सहज रुपमा उपलब्ध नहुनु र कार्यस्थलमा महिलामैत्री शौचालय अभाव हुनु ।
अपर्याप्त सूचना र गलत धारणाका बाबजूद पनि किशोरीहरुले स्वस्थकर प्याड प्रयोग गर्न इच्छा जाहेर गरेका छन् ।
आफ्ना घर र कार्यस्थलमा महिलामैत्री शौचालय नहुँदा किशोरीहरु प्याड फेर्नका लागि व्यक्तिगत सुरक्षाको खतरा मोलेर टाढा जंगल वा नदी किनारा जान बाध्य छन् ।


2487 पटक हेरिएको 

