काठमाडौं : कुनै पनि क्षेत्र (जिल्ला/गाउँपालिका/नगरपालिका/वडा) लाई खुला दिसामुक्त घोषणा गरेपछि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने त थाहा नै छ ।
पूर्ण सरसफाइकोे अवस्था हासिल गर्न लामो समय र ठूलो लगानी आवश्यक हुने भएकाले यस अभियानलाई पनि दुई चरणमा विभाजन गरिएको छ । पहिलो सफा र स्वच्छ चरण र दोस्रो, पूर्ण सरसफाइ उन्मुख चरण ।
यस खण्डमा हामी सफा तथा स्वच्छ क्षेत्र चरणमा सञ्चालन गर्नुपर्ने क्रियाकलापहरु बारे चर्चा गर्दैछौं । सफा र स्वच्छ क्षेत्र हासिल गर्न निम्न क्रियाकलापहरु सञ्चालन गर्नुपर्दछ ।
१. खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका नयाँ सरोकालावालाहरुको समेत पहिचान एवं समावेश गरी केन्द्र देखि स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु गठन, पुर्नगठन तथा सक्रिय गर्नुपर्ने ।
२. समन्वय समिति र सरोकारवालाहरुको सहभागितामा खुला दिसामुक्त क्षेत्र घोषणाको पुनरावलोकन एवं त्यस पछि संचालन गरिने क्रियाकलापहरुलाई सहयोग गर्न ५ सदस्यीय कार्यदल (जिल्ला, नगरपालिका र गाउँपालिका समन्वय समिति) गठन गर्नुपर्ने ।
३. खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी तथ्यांक संकलन तथा विश्लेषण गरी सम्बन्धित क्षेत्रका सरोकारवालाहरुको सहभागिता र सक्रियतामा गाउँपालिका, नगरपालिका र जिल्ला खानेपानी, सरसफाइ र स्वच्छता योजना (Water, Sanitation and Hygiene -WASH Plan) तर्जुमा गर्नुपर्दछ ।
४) केन्द्रदेखि स्थानीय तहमा खानेपानी, सरसफाइ, स्वच्छता सम्बन्धी मानव संसाधन विकासका लागि क्षमता विकास तालिम तथा अभिमुखीकरण गोष्ठीहरु (Capacity Building Training and Orientation) आयोजना गर्नुपर्ने ।
५. खानेपानी, सरसफाइ तथा स्वच्छतासँग सम्बन्धित विभिन्न विषयहरुः चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, न्यूनतम आवश्यक तथा सुरक्षित पानीमा पहँुच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, सफा र स्वच्छ घर, विद्यालय, स्वास्थ्य संस्था एवं कार्यालय, ठोस तथा तरल फोहोरको व्यवस्थापन, ढल तथा दिसाजन्य लेदो व्यवस्थापन, वातावरणीय सरसफाइ आदिका विषयमा आम संचारको प्रयोग, सप्ताह, महोत्सव, सम्मेलन आयोजना तथा घरदैलो कार्यक्रम आदि मार्फत जनचेतनामूलक क्रियाकलाप संचालन गर्नुपर्ने ।
६. खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनको व्यापक प्रचार प्रसार गर्नका लागि स्थानीय परिवेश र भाषा अनुरुप सूचना, शिक्षा र सञ्चार सामग्रीहरुको विकास र वितरण गर्नुपर्ने ।
७. खानेपानी, सरसफाइ तथा स्वच्छता सामाग्रीहरुको ग्रामीण क्षेत्रसम्म पहुँच विस्तार गर्न निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने ।
८. सबै घरधुरीमा चर्पी एवं संस्थागत निकाय र आवश्यकता अनुसार सार्वजनिक स्थानमा शौचालयहरुको निर्माण गरी सबैको साबुन पानी सहितको चर्पीमा पहुँच र प्रयोगको सुनिश्चितता गर्नुपर्ने ।
९. आवश्यकता अनुसार सबै सार्वजनिक (बजार, राजमार्ग, धार्मिक तथा पर्यटकीय स्थल लगायत) तथा संस्थागत शौचालयहरु प्रयोगकर्ता–मैत्री (वातावरण, बाल, लैगिंक, अपाङ्गता र वृद्ध–मैत्री) बनाउनुपर्ने । घरधुरी, स्थानीय संघसंस्था क्लव, समूह, समिति आदि मार्फत घरायसी चर्पी, संस्थागत तथा सार्वजनिक शौचालयहरुको नियमित मर्मतसंभार र स्तरोन्नति गरी स्वच्छता कायम गर्नुपर्ने साथै बालबालिकाको दिसालाई सुरक्षित विर्सजन गर्न जोड दिनुपर्ने ।
१०. व्यक्तिगत स्वच्छता एवं साबुन पानीले हात धुने व्यवहारको विकासका लागि घर, संस्थागत निकाय, सार्वजनिक शौचालय, होटेल, क्यान्टिन आदिमा साबुन पानी सहित हात धुने स्थान (Hand Washing Station) को निर्माण गर्नुपर्ने ।
११. समुदाय परिचालन, आम संचार, सूचना, शिक्षा, सञ्चार सामग्रीहरु मार्फत घरघर, टोलटोल र संस्थाहरुमा खाना खानु अघि, बच्चालाई खाना खुवाउनु भन्दा अघि, दिसा गरेपछि, बच्चाको दिसा धोएपछि, फोहोर तथा विषादी आदि छोए पछि साबुन पानीले हात धुने लगायत थप व्यक्तिगत स्वच्छता प्रवद्र्धन सम्बन्धी ज्ञान, अभ्यासको प्रचार प्रसार र प्रदर्शनी गर्नुपर्ने ।
१२. महिलाहरुको महिनावारीलाई प्राकृतिक प्रकृयाका रुपमा लिदैं यसको स्वच्छता र व्यवस्थापनको लागि घरायसी, विद्यालय तथा संस्थागत निकायमा महिनावारी स्वच्छता व्यवस्थापन तथा प्याडको सफाइ एवं सुरक्षित विर्सजन सम्बन्धी ज्ञानको प्रचार प्रसार गर्नुपर्ने । घर, विद्यालय, संस्थागत निकाय तथा सार्वजनिक शौचालयहरुमा प्याड विसर्जन गर्ने पिट (Pit) वा बिन (Bin) को व्यवस्था गर्नुपर्ने ।
१३. सरोकारवालाहरुसँग समन्वय, साझेदारी र सहकार्यमा गरी सबै घरधुरी, संस्थागत निकाय, सार्वजनिक स्थानहरुमा (खानेपानी आयोजना निर्माण तथा पुर्नस्थापना र मर्मत सम्भार गरी) आधारभूत स्तरको खानेपानीको पहुँच सुनिश्चित गर्नुपर्ने ।
१४. सुरक्षित खानेपानीमा सबैको पहुँच (महिला, विपन्न, पिछडिएका वर्ग तथा समूह समेत) सुनिश्चितताका लागि खानेपानी आयोजना र यसका स्रोतहरु (मुहान, इनार, ह्याण्ड पम्प, कुवा) वर्षातको पानी संकलन ट्यांकी आदिको संरक्षण गरी सरसफाइ र स्वच्छता कायम गर्नुका साथै खानेपानी सुरक्षा योजना संचालन गर्नुपर्ने ।
१५. घरायसी, संस्थागत तथा सार्वजनिक स्थानहरुमा पानीको सुरक्षित व्यवस्थापनका लागि ज्ञान, सीप, अभ्यास सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने । निजी क्षेत्रसँगको सहकार्यमा घरायसी, संस्थागत, सामुदायिक स्तरमा पानी प्रशोधन, शुद्धीकरण सम्बन्धी सामग्रीहरुको बजारीकरण गरी कुनै एक घरायसी विधि (फिल्टर, सोडिस, उमाल्ने, क्लोरिनेशन) को छनौट गर्ने अवसर उपलब्ध गराउनुपर्ने ।
१६. सामुदाय परिचालन र आम संचार क्षेत्रद्धारा घरायसी तहमा खाना प्रयोग सम्बन्धी सुरक्षित व्यवहार जस्तै खाना राम्ररी पकाएर खाने, बासी खाना नखाने, खाएमा आवश्यक तापक्रम तथा शुद्धता कायम गरी खाने, फलफूल तथा काचैं खाने खाद्यान्न राम्ररी धोएर सफा गरी खाने, आदि बानी व्यवहारको विकास गराउनुपर्ने ।
१७. सम्बन्धित सरकारी, गैर सरकारी संस्था, उपभोक्ता सस्था, नागरिक समाज आदिको संयुक्त टोली मार्फत संस्था, विद्यालय, होटल, रेस्टुरा, क्यान्टिन, होस्टेल आदिमा प्रयोग हुने खाना, खाना पकाउने, खाना खाने भाँडाको सफा र स्वच्छता कायम गर्नका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने ।
१८. घरायसी एवं संस्थागत तहमा महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक परिचालक एवं पूर्ण सरसफाइ ट्रिगररहरु मार्फत घरायसी सरसफाइको महत्व, घर तथा संस्थाभित्र बाहिर सरसफाइ, भान्सा तथा गोठको सरसफाइ पशुपंक्षीको व्यवस्थापन, ठोस फोहोर संकलन, वर्गीकरण, त्यसको पुर्नप्रयोग जस्ता कार्यहरु गर्न प्रोत्साहित गर्नुपर्ने ।
१९. घरायसी तथा संस्थागत निकायबाट निस्कासन भएको फोहोर पानीको व्यवस्थापन तथा प्रयोग सम्बन्धी ज्ञान, सीप सम्बन्धमा प्रशिक्षण तथा अभिमुखीकरण र प्रचारप्रसार गर्नुपर्ने ।
२०. निजी तथा सहकारी क्षेत्रसँगकोे सहकार्य र समन्वयमा घरायसी, सामुदायिक तथा संस्थागत तहमा ठोस तथा तरल फोहोर व्यवस्थापनका लागि स्थानीय परिवेशमा उपयुक्त हुने प्रविधिको सिफारिस गर्नुका साथै आवश्यकता अनुसार निर्माण, व्यवस्थापन र संचालन गर्नुपर्ने ।
२१. घर, संस्था, कार्यालय, सामुदाय, सार्वजनिक स्थान आदिमा रहेको शौचालयको खाल्डो÷सेप्टीक ट्याङ्की भरिएपछि त्यहाँको दिसाजन्य लेदो सुरक्षित स्थानमा निस्कासन गर्न स्थानीय स्तरमा संचालन गर्न सकिने प्रविधिको बजारीकरण गरी प्रयोग र संचालनमा ल्याउनुपर्ने ।
२२. स्थानीय तथा सामुदायिक समूह, क्लव, समिति आदिद्धारा सामुदायिक तथा सार्वजनिक सम्पत्ति, गाँउ, नगर, टोल, बाटोघाटो, चौतारा, पाटीपौवा आदिको सरसफाइ गरी सामुदायिक स्वच्छता प्रवद्र्धनमा सघाउ पु¥याउनुपर्ने ।
२३. नगरोन्मुख एवं नगर क्षेत्रमा ठोस फोहोरमैलाको उचित संकलन, बर्गीकरण, ढुवानी, प्रशोधन, पुनःप्रयोग र अन्तिम निस्कासनकोे एकीकृत व्यवस्थापनको शुरुवात लागि स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण गर्न पहल गर्नुपर्ने ।
२४. अस्पताल तथा उद्योगधन्दा, कलकारखानाबाट निस्कने ठोस तथा तरल फोहोरको सुरक्षित स्थानमा निस्कासन, संकलन र व्यवस्थापन गर्न लगाउनुपर्ने ।
२५. नगर एवं नगरोन्मुख क्षेत्रका घरायसी, संस्थागत, सार्वजनिक स्थानलाई ध्यानमा राखी व्यवस्थित ढल प्रणालीको निर्माण गर्नका लागि योजना तर्जुमा गर्नुपर्ने ।
२६. नगर र नगरोन्मुख क्षेत्रमा बधशालाहरुको निर्माण, वधशालाको सरसफाइ र त्यसबाट निस्कने फोहोरको व्यवस्थापनमा जोड दिनुपर्ने ।


1359 पटक हेरिएको 

