पीवाससीसी गठन गर्न प्रदेश सरकारलाई प्रधानमन्त्री कार्यालयको पत्र

 

काठमाडौ : प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (P WASH-CC) गठन तथा पुनर्गठन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सात वटै प्रदेश सरकारलाई अनुरोध पत्र पठाएको छ । यही असोज १३ गतेभित्र देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय सरसफाइ निर्देशन समितिको निर्णय कार्यान्वयनका लागि पिवाससीसीलाई सक्रियता देखाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत निर्देशन समितिले पत्र पठाएको हो ।

यस्तै खुला दिसामुक्त घोषणा गर्न बाँकी प्रदेश, जिल्ला तथा स्थानीय तहलाई छिटो भन्दा छिटो खुला दिसामुक्त घोषणा गरी नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय अभियानमा सघाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि अनुरोध पत्र पठाई सकेको छ ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले आगामी असोज १३ अर्थात सेप्टेम्बर १९ भित्र देशलाई खुला दिसामुक्त घोषणा गर्न सरकारी निकाय, विकास साझेदार तथा दातृ निकाय र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गरिसकेको छ ।

तोकिएकै समयमा खुला दिसामुक्त घोषणा भएमा नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा पहिलो खुला दिसामुक्त घोषणा भएको राष्ट्र हुनेछ । भारतले अक्टोबरमा खुला दिसामुक्त घोषणा गर्ने भएकाले नेपालले त्यो भन्दा अगाडि नै घोषणा गर्ने तयारी गरेको हो ।
हाल ६६ जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार