काठमाडौ महानगरपालिकालाई ओडिएफ गर्न प्रमाणीकरणको प्रक्रिया अगाडि बढाइने

 

काठमाडौ : काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न महानगरपालिका बाधक बनेको आलोचना खेपिरहेको काठमाडौ महानगरपालिकालाई चाँडै खुला दिसामुक्त घोषणा गर्ने भएको छ । महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यसँग जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौका अध्यक्ष शिव सुन्दर राजवैद्य नेतृत्वको टोलीसँग भएको भेटपछि महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न अनुगमनको काम अगाडि बढाउने सहमति भएको हो ।

काठमाडौ महानगरपालिकाको हरेक वडामा चर्पी भए नभएको, चर्पीको प्रयोग भए नभएको जस्ता बिषयको अनुगमन अब जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति काठमाडौले गर्नेछ । अनुगमनका क्रममा शौचालयको अभाव देखिएमा उक्त समस्या वडा तहबाटै समाधान गर्ने र प्रमाणीकरण गरी काठमाडौ महानगरपालिकालाई चाँडै खुला दिसामुक्त घोषणा गर्ने निर्णय भएको टोलीका सदस्य एवं सरसफाइ विज्ञ मुक्ति पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रिय सरसफाइ निर्देशन समितिले आगामी असोज १३ गतेभित्र राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेपछि खुला दिसामुक्त घोषणा गर्न बाँकी स्थानीय तह, जिल्ला तथा प्रदेशलाई त्यस अघि नै खुला दिसामुक्त घोषणा गर्न दबाब पुगेको छ ।
काठमाडौ जिल्लाभित्रका ११ वटा स्थानीय तह मध्ये अब काठमाडौ महानगरपालिका मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । यसअघि काठमाडौको दक्षिणकाली नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिका खुला दिसामुक्त घोषणा भईसकेका छन्।

यस्तै टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर र शङखरापुर नगरपालिकालाई पनि खुला दिसामुक्त घोषणा गरिएको छ ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार काठमाडौ महानगरपालिकामा अझै १ हजार ३०९ घरमा चर्पी बनाउन बाँकी छ । काठमाडौ महानगरपालिकाको ४ लाख ३६ हजार ३४४ घर मध्ये ४ लाख ३५ हजार ३५ घरमा शौचालय बनिसकेका छन् ।
संघीय राजधानी रहेको काठमाडौलाई नै खुला दिसामुक्त घोषणा गर्न समस्या भएपछि सरसफाइ अभियन्ता, सरकारी निकाय, विकास साझेदार तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सबैले चासो राख्दै आएको छ ।

फोटो : मुक्ति पोखरेलको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार