नेपाल ओडिएफ : अब २ दिन मात्र बाँकी

 

काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब २ दिन मात्र बाँकी छ । पर्सि सोमबार राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइ तिर अग्रसर भएको घोषणा गर्नुहुनेछ ।

सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै देशलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिए पनि तराई आन्दोलन, भारतको नाकाबन्दी र भूकम्प लगायत कारणले समयमै घोषणा गर्न सकेको थिएन ।

सरकारले आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रममै नेपाललाई चालु आर्थिक बर्षभित्रै खुला दिसामुक्त घोषणा गरी स्थानीय तहसँगको सहकार्यमा अघि बढ्ने उल्लेख गरेको छ । यसैबीच खुला दिसामुक्त घोषणाको सम्पूर्ण तयारी पूरा भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

असोज १३ पछि देश पूर्ण सरसफाइ तर्फ अग्रसर हुने र दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बन्ने खानेपानीमन्त्री बिना मगरले बताउनुभयो ।

खुला दिसामुक्त समारोहमा सहभागिताको लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले खानेपानी मन्त्रालयको अनुरोधमा ७५३ वटै स्थानीय तहका प्रमुखलाई पत्र पठाईसकेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार