सम्पादकीय : घोषणामा मात्र सीमित नहोस् खुला दिसामुक्त

 

नेपाललाई सोमबार बडो उल्लासका साथ खुला दिसामुक्त घोषणा गरियो । भदौ मसान्तका दिन काठमाडौ जिल्ला खुला दिसामुक्त घोषणा गर्न आएका उपप्रधानमन्त्री ईश्वर पोख्रेल घोषणा नै नगरी फर्केपछि देश नै खुला दिसामुक्त घोषणा कार्यक्रम पनि कतै त्यस्तै त हुने होइन भन्ने ठूलो डर पैदा भएको थियो ।

सुरुमा राष्ट्रपतिद्धारा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम तय भएपनि घोषणा कार्यक्रम नजिकिदै जाँदा समेत राष्ट्रपतिले समय उपलब्ध नगराएपछि प्रधानमन्त्रीको समय पनि पाउने वा नपाउनमा ढुक्क हुन सकेको थिएन । जे होस् युगको माग र नागरिकको चाहनालाई हृदयंगम गरी प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएर आउनुभयो र देशलाई हर्षबढाईका साथ खुला दिसामुक्त भएको घोषणा गर्नुभयो । उहाँले घोषणा मात्र गर्नुभएन कि नेपालले दिगो विकास लक्ष्य हासिल गर्न गरेको प्रतिबद्धता समयमै पूरा गर्न गरिएको एउटा महत्वपूर्ण कामको संज्ञा दिनुभयो । समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न गरिएको एउटा नवीन उपलब्धीका रुपमा ग्रहण गर्नुभयो ।

खुला दिसामुक्त पश्चात आउन सक्ने समस्याहरुको समयमै विश्लेषण गरी ती समस्याहरु आउन नदिन र राष्ट्रलाई साँच्चिकै सफा, स्वच्छ एवं पूर्ण सरसफाइ उन्मुख राष्ट्र बनाउनका लागि खुला दिसामुक्त अभियानमा जसरी दिलोज्यान दिएर लागेका थियौं, सबै शक्ति पूर्ण सरसफाइमा पनि परिचालन गर्नुपर्छ । होइन भने खुला दिसामुक्त घोषणा घोषणामा मात्र सीमित हुनेछ ।

स्थानीय तहका प्रमुख, प्रदेश सरकारका मन्त्री एवं सांसदहरु, मुख्यमन्त्री, सरकारका पूर्व सचिवहरु, अभियन्ताहरु र सर्वसाधारणको उपस्थितिले पनि नेपाल खुला दिसामुक्त घोषणा कार्यक्रम आम नागरिक एवं सबै तहको सरकारको हो भन्ने प्रमाणित गरेको थियो ।
कुनै समय २/३ प्रतिशत नेपालीको घरमा मात्र सीमित शौचालय सबैको घरमा निर्माण गरी देशलाई नै खुला दिसामुक्त घोषणा गर्नु यो चानचुने उपलब्धी होइन ।

तर यो नै ठूलो उपलब्धी हो भनेर मख्ख परेर बस्ने हो भने अबको बाटो चाहिं निक्कै महँगो र कठिन हुन सक्छ ।
अबको यात्रा पूर्ण सरसफाइको त भनेका छौं तर विगतको पाना पल्टाउँदा ढुक्क हुनसक्ने अवस्था छैन । २०६८ साल असारमै खुला दिसामुक्त घोषणा भएको कास्कीमा समेत पूर्ण सरसफाइ कार्यक्रम अभियानको रुपमा सञ्चालन हुन सकेको छैन । न त चितवनमै भएका छन् । जसका कारण खुला दिसामुक्त घोषणा गरेको एक दशक हुनै लाग्दा समेत केही टोलहरु बाहेक एउटा पनि स्थानीय तह पूर्ण सरसफाइ उन्मुख घोषणा भएका छैनन् ।

यसले पनि के देखाउँछ भने पूर्ण सरसफाइको यात्रा कि धेरै जटिल छ, कि त यसतर्फ सबैको ध्यान जान सकेको छैन । तर अब यसो हुनुहुँदैन ।
खुला दिसामुक्त पछिको यात्रा निरन्तर जारी नराख्ने हो भने सरसफाइका लागि मरिमेटेर लागेकाहरुको जोश जाँगर सेलाउने, शौचालयको प्रयोग नगर्ने मानिसहरुको दर बढ्दै जाने र त्यसको सीधा असर फेरि जनस्वास्थ्यमै पर्न जानेछ ।

शौचालयको नियमित प्रयोग गर्नेको हकमै पनि विस्तारै शौचालयको सेफ्टी ट्याङ्की भरिने र प्रशोधन बिनै दिसाजन्य लेदोको बिसर्जन गर्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । त्यसैले खुला दिसामुक्त पश्चात आउन सक्ने समस्याहरुको समयमै विश्लेषण गरी ती समस्याहरु आउन नदिन र राष्ट्रलाई साँच्चिकै सफा, स्वच्छ एवं पूर्ण सरसफाइ उन्मुख राष्ट्र बनाउनका लागि खुला दिसामुक्त अभियानमा जसरी दिलोज्यान दिएर लागेका थियौं, सबै शक्ति पूर्ण सरसफाइमा पनि परिचालन गर्नुपर्छ । होइन भने खुला दिसामुक्त घोषणा घोषणामा मात्र सीमित हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार