
तनहुँ : गाउँमा खानेपानीको अचाक्ली दुःख भयो भन्दै केही वर्ष अघि गाउँ छाडेकी रिसिङगाउँपालिका – ९ की सीतामाया गर्जामगर अहिले गाउँमै फर्किनुभएको छ । गाउँमै खानेपानीको सुविधा भएपछि सीतामाया जस्तै रिसिङ्ग गाउँपालिका ९ का धेरै जना अहिले धमाधम गाउँ फर्किन थालेका छन् ।
दैनिक उपभोग्य बस्तुहरु खानेपानी लगायत विजुली बत्ती, उचित शिक्षादिक्षाको अवसर पनि गाउँमै उपलब्ध हुने भएपछि गाउँ फर्किएको उनीहरु बताउँछन् ।
गाउँमा विजुलीबत्ती, मोटरवाटो, माध्यमिक विद्यालय, केवल, ईन्टरनेट सुविधा थपिएपछि शहर पुगेकाहरु पुनः गाउँ फर्किन लालयित भएका हुन् । बजारमा मासिक कोठा भाडा, खानेपानी र विजुली बत्तीको भाडा सबै तिर्दा पैसा बचाउनै गार्हो हुने र गाउँमै सबै सुविधा पाउने भएपछि गाँउमै फर्कने निर्णय गरिएको रिसिङगाउँपालिका–९ की सीतामाया गर्जामगरले बताउनुभयो ।
‘खानेपानीको अभावमा उकाली ओराली गर्नुपर्दा कति गार्हो हुन्थ्यो, त्यही दुःखले हामीले गाउँ छाडेका थियौं, अहिले घर आँगनमै पानीको धारा छ, विजुली बत्ती पनि आएको छ । बजार सम्म जाने सडक पनि बनेका छन्, अनि शहरमा भन्दा गाउँमै सुविधा हुने भएपछि फर्किएका हौं’ उहाँले भन्नुभयो ।
गाउँमा वस्न छाडेर शहरमा पसेकालाई पुनः गाँउमै फर्काउने र गाउँका अन्यलाई पनि शहरमा पस्न नदिन कृषि र पर्यटकीय क्षेत्र बनाउने अभियान थालिएको रिसिङ्ग गाउँपालिकाका प्रमुख राजेन्द्र कृण्ण श्रेष्ठले बताउनुभयो । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण रहेको गाउँमा पुर्वाधार निर्माण गर्न युवा लक्षित अभियान थालिएको उहाँको भनाइ छ ।


1030 पटक हेरिएको 

