सार्वजनिक शौचालय सञ्चालन सम्बन्धी निर्देशिका बनाउनुपर्नेमा जोड

 

काठमाडौ : सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापनका लागि ‘सार्वजनिक शौचालय सञ्चालन सम्बन्धी राष्ट्रिय निर्देशिका’ बनाउनुपर्नेमा बक्ताहरुले जोड दिएका छन् । विश्व शौचालय दिवस मनाउने बिषयमा विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिसँग गुथीले आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले सार्वजनिक शौचालय सञ्चालन सम्बन्धी निर्देशिकाको अभावमा शौचालयको व्यवस्थापन एवं सञ्चालनका समस्या देखिएकाले यस सम्बन्धी निर्देशिका बनाउनु पर्नेमा जोड दिएका हुन् ।

स्थानीय सरकारको नेतृत्वमा विभिन्न गाउँपालिका तथा नगरपालिकामा सार्वजनिक शौचालय सञ्चालन सम्बन्धी कार्यविधि तयार भईरहे पनि यो राष्ट्रिय मुद्दा भएकाले राष्ट्रिय स्तरकै निर्देशिका बनाउनुपर्नेमा सहभागीको जोड थियो । कार्यक्रममा गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले काठमाडौ उपत्यकाका चार नगरपालिकाका उप मेयरहरु सम्मिलित समितिले सार्वजनिक शौचालय सञ्चालन सम्बन्धी निर्देशिका तयार पारी किर्तिपुर नगरपालिकाको हकमा नगर कार्यपालिकाबाट समेत स्वीकृत भईसकेको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुर थिमी नगरपालिका र किर्तिपुर नगरपालिकाले सार्वजनिक शौचालय सञ्चालन सम्बन्धी निर्देशिका तयार पारिसकेको छ ।

कार्यक्रममा पूर्व विज्ञान प्रविधि तथा वातावरणमन्त्री गणेश शाहले सरकारले भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि पनि शहरमा पर्याप्त सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने बताउनुभयो । ‘नेपालमा २० लाख पर्यटक त आउँलान् तर सार्वजनिक शौचालय भएन भने उनीहरुले कहाँ दिसापिसाब गर्ने ? यो एकदम चुनौतीपूर्ण छ, त्यसैले ‘टोईलेट फर टुरिज्म’ अभियान नै सञ्चालन गर्नुपर्ने देखिन्छ’ उहाँले भन्नुभयो ।

विश्व शौचालय दिवस भव्यताका साथ मनाईने

विश्व शौचालय दिवस भव्यताका साथ मनाईने भएको छ । विश्व शौचालय दिवस मनाउने बिषयमा विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिसँग गुथीले आयोजना गरेको छलफल कार्यक्रममा यस सम्बन्धी कार्य बाँडफाँट समेत गरिएको छ ।

यही नोभेम्बर १९ का दिन मनाईने विश्व चर्पी दिवसको अवसरमा प्रभातफेरि, साइकल र्‍याली, सार्वजनिक शौचालय सञ्चालन निर्देशिकाका बिषयमा नीति निर्माता, कार्यान्वयनकर्ता, सरोकारवाला संघसंस्था बीच अन्तरक्रियात्मक कार्यक्रम, शौचालय सफाइ अभियान, सञ्चार माध्यममा शौचालय सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम, शौचालयका बिषयमा विभिन्न लेख रचना प्रकाशन एवं सिर्जनात्मक कार्यक्रम सञ्चालन लगायतका कार्यक्रम गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार