बाइराँमा सधैं पानी राजनीति

 

जुम्ला : जुम्लाबाट २०६४ देखि २०७४ साल सम्मको निर्वाचनमा विजयी हुने नेताले तातोपानी १ मा खानेपानी पुर्‍याउने विषयलाई मुख्य एजेण्डा बनाए । सोहि अनुसार निर्वाचित भएको केही महिनामा घरघरमा धारा जडान गर्ने बाचा गरेपनि गाउँमा पानी पुगेन् ।

खाली राजनीति गर्नका लागि बाइराँका गाउँमा पानी पुर्‍याउने विषय नेताहरुले ढालका रुपमा बाइराँकाबासीलाई प्रयोग गरे । २०६४ सालको संविधानसभा निर्वाचनमा सांसद उठेका नरेश भण्डारीले बाइराँका गाउँमा खानेपानी पुर्‍याउने आश्वासन दिएर भारी मत ल्याएर विजयी भए । तर जितिसकेपछि एकदिन पनि फर्केर त्यो गाउँमा नगएको स्थानीय राजेन्द्र शाहीले गुनासो गरे । अहिले नरेश भण्डारी कर्णाली प्रदेशका कानुन मन्त्री समेत भइसकेका छन् । तर बाहिराँका गाउँमा पानी पुगेको छैन् ।

त्यस २०६८ सालको आम निर्वाचनमा जुम्लाबाट प्रत्यक्ष निर्वाचित नेपाली काँग्रेसका सांसद ललितजंग शाहीले पनि बाइराँकामा पानी पुर्‍याउने भन्दै भोट लिए । तर नदीकै दुषित पानी पिउनुपर्ने बाइराँका स्थानीयले बाध्यता हटेन । चुनावमा मात्रै हरेक पाटीका घोषणापत्रमा प्रथामिकतामा पर्ने बाइराँका गाउँको खानेपानी समस्या निर्वाचनपछि सबैको उपेक्षामा पर्ने गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बाइराँबासीले पानी दिनेलाई भोट भनेर नारा लगाए ।

विभिन्न पाटीका नेता गाउँमा पसेर पानी दिने प्रतिवद्धता समेत व्यक्त गरे । तातोपानी गाउँपालिकाको अध्यक्षमा जितेका नवराज न्यौपानेले पहिलो प्रथामिकता बाइराँका पानी पुर्‍याउने रहेको भन्दै आश्वान दिएर भोट मागे र विजयी समेत भए । तर आज सम्म पनि बाईराँका गाउँका सयौ स्थानीय नदीकै दुषित पानी पिउन बाध्य छन् । यो खबर कारोबार दैनिकमा छापिएको छ ।

गाउँपालिकाको पानी पुर्‍याउने योजना

वर्षौदेखि सफा खानेपानीबाट बञ्चित बाइराँकामा पानी पुर्‍याउने तातोपानी गाउँपालिकाले लिताकोट बाइराँका बृहत्त खानेपानी आयोजनाका लागि ४० लाख छुटायो । तर गत आर्थिक वर्षमा उक्त आयोजना अघि नै बढेन । चालु आवमा उक्त आयोजना निर्माण गरिसक्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष नवराज न्यौपानले बताए ।

उनले बाइराँका गाउँमा स्रोत नभएको र अन्यत्रबाटै लिनुपर्ने भएकोले समय लागेको बताए । उनका अनुसार २०६४ साल देखिका निर्वाचनमा नेताहरुले ढालका रुपमा प्रयोग गरेको खानेपानी समस्या स्थानीय सरकारले समाधान गर्ने उनको प्रतिबद्धता छ । १ नम्बर वडाध्यक्ष प्रेम कठायतले अबको दुई वर्षमा बाइराँकामा पानी पुग्ने दावी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार