दिसाजन्य लेदो विसर्जनको निश्चित स्थान तोकौं : भट्टराई

 

काठमाडौ : ‘विश्व शौचालय दिवस’ कसरी मनाउन सकिन्छ ? भन्ने बिषयमा आ – आफ्नो धारणा राख्ने क्रम जारी थियो । कार्यक्रमको आयोजना गरेको थियो गुथीले । विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधि रहेको छलफलमा कसैले विश्व शौचालय दिवसमा गर्न सकिने क्रियाकलापहरुबारे सुझाए, कतिले आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

आ – आफ्नो धारणा व्यक्त गर्ने क्रममा पालो आयो लुमन्तीका वास प्रमुख उद्धवराज भट्टराईको । उहाँले दिसाजन्य लेदो विसर्जनको लागि निश्चित स्थानको व्यवस्था गर्नुपर्ने बताउनुभयो । ‘अहिले सेफ्टिक ट्याङ्की भरिएपछि ट्याङ्करवालाले खाली गरेर लैजान्छ तर कहाँ विसर्जन गर्छ भन्ने कसैले पनि निगरानी राखेको हुँदैन, नगरपालिकाहरुले दिसाजन्य लेदो बिसर्जन गर्ने निश्चित स्थानको व्यवस्था गर्नुप¥यो ।’

भट्टराईले यत्ति भन्नासाथ बीचैमा बोल्नुभयो पूर्व वातावरणमन्त्री डा. गणेश शाह ‘यो विसर्जन गर्ने चीज नै होइन, यसलाई हामीले प्रशोधन गरेर मलको रुपमा प्रयोग गर्नुपर्छ ।’ शाहको कुरा सुनेपछि उहाँले थप स्पष्ट पार्दै भन्नुभयो ‘मानिसले प्रयोग गर्दा पनि सीधै सेफ्टिक ट्याङ्कीबाट प्रयोग गर्न त मिलेन, प्रशोधनका लागि पनि विसर्जन गर्ने निश्चित स्थान त हुनैप¥यो । तर अहिले त कुनै निश्चित स्थान नै छैन । ट्याङ्करवालाले जहाँ पायो त्यही फ्याँकिरहेको हुन्छ । त्यसैले यसलाई व्यवस्थित गर्नैपर्छ ।’

उहाँले फोहोरमैला भन्ने वित्तिकै ठोस फोहोरमैला व्यवस्थापनको कुरामा मात्र केन्द्रित नहुन पनि आग्रह गर्नुभयो । ‘ठोस फोहोरमैलाका साथै मानिसको स्वास्थ्यका लागि अति हानिकारक मानिने दिसाजन्य लेदोको सही व्यवस्थापनका लागि पनि जोड दिनुपर्छ’ उहाँले भन्नुभयो ।
हरेक बर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाईदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार