रूपान्तरण किशोरी समूह : जसले महिनावारी हुँदा पनि घरभित्रै बस्ने साहस दिलायो

कालिकोट : पलाता–१, पुलाहाकी सूचना भण्डारी १४ वर्षकी हुँदा महिनावारी भइन् । बुबाआमाले छाउगोठमा बस्नुपर्छ भनेपछि उनले त्यसै गरिन् । अहिले उनी १७ वर्षकी भइन्, छाउगोठ त्यागेको एक वर्ष पुग्यो । गत वर्ष गाउँमा उनी आबद्ध किशोरी समूहमा छाउगोठ बस्ने चलन विरुद्ध अभियान चलाउने सल्लाह भएपछि उनले पनि गोठ छाडेकी हुन् ।

उनी जस्तै २० जना किशोरी मिलेर बनेको रूपान्तरण किशोरी समूहका सदस्यले वर्ष दिनयता छाउविरुद्धको अभियानलाई तीव्रता दिएका छन् । छाउगोठमा सुत्दा बिरामी हुने, सर्पको डर हुने, अन्य व्यक्तिबाट पनि त्रास भइरहने समस्याका कारण उनीहरूले अभियान चलाउने निर्णय गरेका थिए । ‘सुरुमा त आमाबुबाले र छिमेकीले कुरा काट्छन्, गोठमै सुत्न जाऊ भनेर कर पनि गरे,’ उनले भनिन्, ‘गोठमा सुत्दा डर त्रास हुने भएकाले पहिले सुत्ने घरकै कोठामै सुत्छु भनेर घर छिरेँ ।’ छाउ भएका बेला छोरी घर आई भनेर दुई दिनसम्म आमाबुबा नबोलेको उनले सुनाइन् । ‘अहिले भने परिवारका सदस्यले महिनावारीलाई सहज रूपमा लिन थालेका छन्,’ उनी ढुक्क छिन्, ‘अहिले घरभित्रै अरू भाइबहिनीसँगै सुत्छु । भान्सामा अरूलाई पकाएकै खानेकुरा खान्छु ।’

गाउँकै किशोरी यशोदा भण्डारी पनि अहिले छाउ बार्न गोठ जाँदिनन् । किशोर अवस्थामा सुरु हुने महिलाको विशेष शारीरिक परिवर्तन नै महिनावारी हो भन्ने बुझेपछि गोठ बस्न छोडेको उनले बताइन् । उनी पनि तल्लो गाउँमा गठन भएको सशक्तीकरण किशोरी समूहकी सचिव हुन् । ‘समूहमार्फत अन्यलाई पनि गोठ होइन घरमै बसाउने काममा अभियान थालेका छौं,’ उनले भनिन्, ‘महिनावारी हुँदा गोठ बस्ने चलन राम्रो रहेनछ ।’ एक वर्षयता छाउ भएका बेला आमा पनि गोठ नगएको उनको भनाइ छ ।

शिक्षा, चेतना र भौगोलिक रूपमा विकट मानिने पलातामा किशोरीले चलाएको अभियान प्रभावकारी बन्दै गएको छ । पलाता गाउँपालिकाको समन्वयमा सञ्चालित किशोरी संवाद अभियानले अपत्यारिलो परिर्वतन ल्याएको पलाता–१ का वडा सदस्य मोती कार्कीले बताए । उनले भने, ‘किशोरी समूहकै अभियानका कारण धेरै महिला अहिले छाउगोठमा बस्न छाडेका छन् ।’

पलाताको धौलागोह सुक्खा खडेरीग्रस्त क्षेत्र हो । यहाँ बर्सेनि खाद्यान्न अभाव हुन्छ । पुरुषहरू मौसमी ज्याला मजदुरीका लागि भारत जान्छन् भने महिला घरमै बस्छन् । महिनावारीका बेला गोठमा बस्दा असुरक्षित हुने भएकाले पनि पलाताका महिला अहिले घरमै सुत्न थालेको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताइन् ।

परम्परागत रूपमा चल्दै आएको रुढिवादी चलनले जरो गाडेको समुदायमा किशोरी आफैं अभियन्ता बनेर छाउपडी प्रथाविरुद्ध सक्रिय भएको नागरिक अगुवा मनलाल जैसीले बताए । ‘किशोरीहरूले महिनावारी भएका बेला गर्ने सरसफाइ, खानपिन र दैनिक कामबारे समेत अभिभावक र अन्य महिलालाई सम्झाइबुझाइ गरिरहेका छन्,’ उनले भने ।

पुलाहा मात्र होइन, गत वर्ष आगलागीले खरानी भएको खाडा गाउँका किशोरी पनि महिनावारी भएका बेला छुट्टै सुत्न जान छाडेको वडाध्यक्ष मानबहादुर भण्डारीले बताए । ‘घरमा आगलागी भएपछि धेरैजसो किशोरी र महिलाले त छाउ भएको पनि परिवारका सदस्यलाई थाहा दिएनन्,’ उनले भने, ‘अचेल सबै बानी परिसके, कोही सोधीखोजी गर्दैनन् ।’ यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

पुलाहाका कला भण्डारी, भद्रा कार्की, मुगी भण्डारी, रूपा, नन्दकला, गीता, शान्ति भण्डारी, औला विकलगायत किशोरीले सुरु गरेको छाउगोठ बहिष्कार अभियान अहिले पलाताका गाउँगाउँसम्म फैलिएको छ । किशोरीले छाउप्रथा मान्न छाडेपछि विद्यालय पनि नियमित भएको सरस्वती मावि धौलागोहका शिक्षक कृष्णबहादुर बमले बताए ।

उनका अनुसार पहिले महिनावारी भएपछि छात्रा विद्यालय नआउने समस्या थियो । किशोरीले महिनावारी भएका बेला अहिले गाईभैंसीको दूध, मही, घिउसमेत खाने गरेको पलाता–४ का वडाध्यक्ष ऐनराज महताराले बताए । किशोरीकै नेतृत्वमा समाजका रहेका कुरीति अन्त्य गर्न सहज भएको पाइएको उनको भनाइ छ । उनका अनुसार अहिले वडा कार्यालयले किशोरी समूहका लागि केही बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार