तयार भयो झापा जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन, ५ वर्षभित्र सफा र स्वच्छ क्षेत्र बनाउने

 771 पटक हेरिएको

विनोद धौलागिरि, झापा : जिल्लालाई पाँच वर्षभित्र सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने लक्ष्यसहित झापा जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन मंगलबार पारित भएको छ ।जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले झापा जिल्ला खुल्ला दिसामुक्त घोषणाको क्रममा सार्वजनिक गरेको पूर्ण सरसफाइ मार्गदर्शनलाई मंगलबारको समितिको बैठकले परिमार्जन सहित पारित गरेको हो । २०८१ चैत्र महिनाभित्र जिल्लालाई सफा र स्वच्छ क्षेत्र घोषणा गरी पूर्ण सरसफाइ उन्मुख हुने लक्ष्य मार्गदर्शनले लिएको छ ।

स्थानीय तहहरुले तयार गर्ने खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH PLAN) मा न्यूनतम विषयमा एकरुपता ल्याउने, स्थानीय तहहरुको वार्षिक योजनामा खानेपानी, सरसफाइ तथा स्वच्छतालाई समावेश गर्ने र यस क्षेत्रको मूलप्रवाहीकरणका लागि सहयोग गर्ने उद्धेश्यले पूर्ण सरसफाइ मार्गदर्शन तयार गरिएको जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बताउनुभयो ।

“जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले स्थानीय तहमा सञ्चालन हुने पूर्ण सरसफाइ अभियानका लागि आवश्यक प्राविधिक तथा प्रक्रियागत सहजीकरण, प्रदेश र केन्द्र सरकारसँग समन्वय र जिल्लाभरको अभियानमा न्यूनतम एकरुपता ल्याउने काम गर्न सक्छ”, उहाँको भनाइ छ, “हामी आफैसँग योजना तयार गरी कार्यान्वयन गर्ने साधन श्रोत नभएकोले मार्गदर्शनमा स्थानीय तहमा सञ्चालन गरिनुपर्ने क्रियाकलाप, अनुगमन ढाँचा, सफा र स्वच्छ घरका सूचक, पूर्ण सरसफाइको मूलप्रवाहीकरण लगायतका विषयमा जोड दिएका छौं ।”

जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शनमा जिल्लको संक्षिप्त चिनारी, आधारभूत सरसफाइको अवस्था, खानेपानीको अवस्था, पूर्ण सरसफाइ अभियानको अवस्था, विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छताको अवस्था, घरायसी तहको सरसफाइको अवस्था, र सरसफाइका सवल पक्ष तथा अवसरहरुको विश्लेषण गरिएको छ ।

यसैगरी मार्गदर्शनको परिकल्पना, लक्ष्य, औचित्य, उद्धेश्य, कार्यक्षेत्र र रणनीति समेत मार्गदर्शनमा समेटिएको छ ।

स्थानीय तहको वार्षिक कार्यक्रममा पूर्ण सरसफाइलाई मूलप्रवाहीकरण गर्नका लागि जिल्ला पूर्ण सरसफाइ मार्गदर्शनले सुझाव दिएको छ । “कृषि, पशुपालन, उद्यमशीलता, महिला, किशोरी सशक्तीकरण, बालबालिका, जनस्वास्थ्य, सार्वजनिक क्षेत्र व्यवस्थापन, विपद् व्यवस्थापन र युवा सशक्तीकरण लगायतका क्षेत्रमा पूर्ण सरसफाइलाई कसरी समावेश गर्न सकिन्छ भन्ने सुझाव दिइएको छ”, जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका उपाध्यक्ष मीना पराजुलीले भन्नुभयो, “जिल्ला तहमा गरिने पूर्ण सरसफाइ प्रबर्धनका क्रियाकलापलाई समेत मार्गदर्शनमा समेटिएको छ।”

पूर्ण सरसफाइ अभियानको अनुगमन प्रणाली, अनुगमनका सूचकहरु, अनुगमन ढाँचा, विभिन्न तहमा सञ्चालन गरिने मुख्य क्रियाकलाप, वडा तहको पूर्ण सरसफाइ कार्ययोजनाको ढाँचा समेत मार्गदर्शनमा समेटिएको पूर्ण सरसफाइ अभियान सहजीकरण गर्ने संस्था विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक एवम् पूर्ण सरसफाइ मार्गदर्शन तयारी कार्यदलका सदस्य सोमनाथ आचार्यले जानकारी दिनुभयो ।

 

स्थानीय तहमा वास योजना तयारी

 


यसैबीच, झापाका स्थानीय तहहरुले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास योजना) निर्माणको थालनी गरेका छन् । स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छताको एकीकृत योजना तयार गरी कार्यान्वयनमा ल्याउनुका साथै मूलप्रवाहीकरण गर्ने उद्धेश्यले वास योजना निर्माण गर्न लागिएको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । “वास योजना तयारी मार्गदर्शन एवम् कार्यविधि हिजोको गाउँ कार्यपालिकाको बैठकले पारित गरेको छ, अब यसैका आधारमा एक महिनाभित्रै वास योजना तयार गरी कार्यान्वयनमा ल्याउँछौं” उहाँको भनाइ छ ।

यसैगरी जिल्लाको कमल गाउँपालिकाले समेत वास योजना तयारी थालेको छ । “हामीले पूर्ण सरसफाइ अभियानमा समेत कमल गाउँपालिकालाई नमूनाको रुपमा विकास गर्न चाहन्छौं”, खुल्ला दिसामुक्त अभियानका क्रममा सरसफाइ च्याम्पियन सम्मान प्राप्त गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले भन्नुभयो, “कमल गाउँपालिकाका ७ मध्ये ४ वडामा विराट सामुदायिक अध्ययन केन्द्रले पूर्ण सरसफाइ अभियान सहजीकरण गरिरहनुभएकोछ, बाँकी वडामा हामी स्थानीय तहको तर्फबाट अभियान अघि बढाएर पूर्ण सरसफाइ अभियान अघि बढाउछौं ।”

जिल्लाका तीन स्थानीय तहका १४ वडामा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्नका लागि ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले सहयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार