बर्दिया : बर्दियाको नमूना टोल विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाका पदाधिकारीहरुले अनुगमन गरेका छन् । पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेका राजापुर नगरपालिकाको वडा नं. २ को नव ज्योति आधारभुत विद्यालय नयाँगाउँ र सोही वडाको नयाँ गाउँको सुकुम्बासी टोल र राजापुरनगरपालिकाको वडा नं. २ अन्तर्गत टिहुनीको अनुगमन गरिएको हो ।
अनुमनको क्रममा विद्यालय तथा समुदायमा सरसफाइका सम्पूर्ण सुचक पुरा भएको पाईयो । सरसफाइ बानीको विकास भएकाले सबैलाई सिकाउने तथा निरन्तरता दिन अनुरोध गरियो । विद्यालय आधारभूत तहमात्र भएपनि हाल २६५ जना विद्यार्थी अध्ययनरत रहेको र शिक्षकको स्थायी दरबन्दी नभएपनि पालिका स्तरमा सबै भन्दा बढी सिकाइ बृद्धि भएको विद्यालयका प्रधानाध्यापक रम सरुप चौधरीले जानकारी दिनुभयो । स्कुलमा सरसफाइका सबै सुचक पुरा गरेको साथै सरसफाइका बारेमा सिक्नलाई सरसफाइ सुचकका चित्र र बास्तविक सामाग्री सहितको स्रोत केन्द्र, शौचालय सफा सुरक्षित पानीको लागि २ वटा बायोस्यान्ड फिल्टर, शौचालय नजिकै साबुन पानी सहित हात धुने स्थान, सरसफाइ गर्नकै कारण नगरपालिकाबाट अगामी आर्थिक बर्षमा २ कोठे भवन तथा शौचालयमा पानी मोटर सहितको ट्याङ्की जडान, पुस्तक राख्ने टेबल, दराज खेलकुदका लागि सामग्री उपलब्ध गराउने नगर प्रमुखले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरसफाइको नमूना काम गरेकोमा सम्पुर्ण विद्यालय शिक्षक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायत सबैलाई जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष शंकर थारु (शेखर)ले शुभकामना तथा निरन्रताको लागि सुझाब दिनुभयो । विद्यालयका प्रधानाध्यापक रम सरुप चौधरीले अनुगमन टिम समक्ष विद्यालयको क्षेत्रफल थोरै रहेको र विद्यार्थीको चाप अनुसार अभाब भएकोले ब्यवस्थापनको लागि सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरिदिन अनुरोध गर्नुभयो ।
तिहुनी र मयुरबस्तीमा सरसफाइका सबै सूचक पूरा
राजापुर नगरपालिकाको वडा नं. १ तिहुनी र सोही नगरपालिकाको वडा नं. २ नयाँगाउँ सुकुमबासीटोलमा सरसफाइका ५+१ को सुचक सबैजसो घरले पूरा गरेको पाईयो । प्रत्येक घरमा सुरक्षित शौचालय प्रयोग गर्ने गरेको, शौचालयको प्रयोग गरेपछि साबुन पानी सहितको छुट्टैै हात धुने ठाउँ बनाएको, सुरक्षित पिउने पानीको लागि बायोस्याण्ड फिल्टरको प्रयोग गर्ने गरेको, कुहिने र नकुहिने फोहोर बस्तुको अलग –अलग ब्यवस्थापन गरेको, ब्यक्तिगत सरसफाइको लागि महिलाहरुले घरमा बनाएको कपडाको प्याड प्रयोग गर्ने गरेको, सुरक्षित खानेकुरा खाने गरेको, घरआँगन तथा बातावरण नियमित रुपमा सफा गर्ने गरेकोले यी नमूना गाउँहरु पुर्ण सरसफाइ तिर उन्मुख हुँदै निश्कर्ष टोलीले निकालेको छ ।
त्यसैगरी अर्को दिन जिल्लाको अनुगमन टोलीले बढैयाताल गाउँपालिका वडा नं. ८ मयुरबस्ती र मयुर बस्ती आधारभूत विद्यालयको अनुगमन गरियो । अनुगमनका क्रममा समूदायमा सबै सरसफाइका सूचक पूरा गरेको पाईयो । सूचक पार गर्नको लागि विद्यालयमा ७ झण्डे कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रमले गर्दा विद्यालयको प्राङ्गण देखि कक्षाकोठा, शौचालय सुरक्षित पानी, प्याड ब्यवस्थापन, ब्यक्तिगत सरसफाइका सबै सुचक पुरा भएको पाइयो । विद्यालय तथा समुदाय अनुगमन गरिसकेपछि अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा नमूनाटोलका अध्यक्ष डल्लु थारु, जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारु, बढैयाताल गाउँपालिका उपाध्यक्ष दिपा गौतम, निमित्त प्रमुख जिल्ला अधिकारी बालकृष्ण अधिकारी, बर्दिया अस्पताल सञ्चालक समितिका अध्यक्ष अंगद श्रेष्ठ, बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदी लगायत हुनुहुन्थ्यो ।
जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाको अगुवाईमा GSF/UN Habitat को सहयोग तथा IDS Nepal/Mayus बर्दियाले गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका, बाँसगदी नगरपालिका र राजापुर नगरपालिकामा पुर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ ।