
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले वडा नं. ६ (साबिक नगरकोट गाउँ विकास समिति) मा वडा स्तरीय सरोकारवालाहरुको लागि पूर्ण सरसफाइ सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । वडा स्थित बिद्यालयहरुको प्रतिनिधी, महिला स्वास्थ्य स्वयं सेविका, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधीहरु, सुरक्षा निकाय, वार्ड वास सिसि, स्थानिय क्लब, सहकारी संस्था लगायत करिब ३० जना सरोकारवालाहरुलाई पूर्ण सरसफाइ, नमुना समुदाय र पूर्ण सरसफाइ सम्बन्धी अन्तर सम्बन्धित बिषय महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी बिषयमा अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष सन्त बहादुर वाईवाले खुला दिसामुक्त अभियानमा आफूले निर्वाह गरेको भूमिका बारे स्मरण गर्दै नगरकोटलाई पूर्ण सरसफाइ अभियानमा अग्रसर गराउने बताउनुभयो । उहाँले नगरकोटलाई नमुना पर्यटकीय क्षेत्रको साथै सफा र स्वच्छ क्षेत्रको रुपमा बिकास गर्न वडा स्तरीय सबै सरोकारवालालाई अपिल गर्नुभयो । वडामा टोल स्तरीय सरसरसफाइ समितिहरु गठन गरी नमुना क्षेत्रको रुपमा बिकास गदै पूर्ण सरसफाइ अभियानलाई तीब्र रुपमा अगाडि बढाउने, नगरपालिकाकै पूर्ण सरसफाइमा एक उत्कृष्ट वडाको रुपमा अगाडि बढाउने र पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने अभियानमा सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा नगरपालिकाको कार्यक्रम संयोजक राम सत्याल, नगरपालिका संयोजक सुरेन्द्र लामिछाने र पूर्ण सरसफाइ सहजकर्ता रमिता तामाङ्गले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा फेदी नमुना समुदायका प्रतिनिधी श्रीराम लामिछानेले नगरकोट फेदी नमुना समुदायले सञ्चालन गरिरहेको गतिबिधि र उपलब्धीहरुको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा उपस्थित सहभागीहरुले पूर्ण सरसफाइ कार्यक्रमको बिषयमा सल्लाह सुझाब र आ आफ्ना धारणा राख्नु भएको थियो ।
चाँगुनारायण नगरपालिकाको पूर्ण सरसफाइ अभियानमा ग्लोबल स्यानिटेशन फण्ड र यु.एन. ह्याविट्याटले सहयोग गरिरहेको छ ।



1731 पटक हेरिएको 

